Swornakshar Logo

गोरखामा कुकुरको आक्रमणबाट चितुवाको मृत्यु

७ चैत । गोरखा । पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ ।
आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए ।

‘बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ’, उनले भने, ‘चितुवा र एउटा कुकुर मृत भेटिएका छन् ।’

स्थानीयवासी फुचुङ लामाले सञ्चालन गर्दै आएको बाख्रा फार्ममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवालाई ६ कुकुरले लखेटेका थिए ।

चितुवाको आक्रमणबाट दुई कुकुर घाइते भएको उनले बताए । चितुवा र कुकुर एकापसमा करीब डेढ घण्टा भिडेका थिए ।

घटनालगत्तै पालुङटार रातेमाटेस्थित सेरा प्रहरी चौकीबाट प्रहरी टोली तथा डिभिजन वन कार्यालयबाट गएको प्राविधिक टोलीले मृत चितुवालाई वन कार्यालयमा ल्याई गाडेको थियो ।