Swornakshar Logo

मुख्यमन्त्री राईले मागे मन्त्री र सचिवको कार्यप्रगति

४ चैत । काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग एक बर्षको कार्य प्रगति विवरण मागेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री तथा सचिवहरुसँग मुख्यमन्त्रीले कार्यप्रगति विवरण मागेका हुन्।
सरकारले गर्ने कामको मासिक रुपमा समीक्षा हुने गर्छ। राईले भने ,‘‘तपाइँहरुले आफ्नो कामको समीक्षा पनि गर्नुहोला। अब जनअपेक्षाअनुरुप काम गर्न हामीले रत्तिभर पनि ढिला गर्नुहुन्न्।’’ राईले मन्त्रालयगत रुपमा मन्त्री र सचिवलाई कामको प्रगतिबारे समीक्षा गर्न निर्देशन समेत दिए।
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट खर्च नहुँदा काममा ढिलासुस्ती भएको छ। उनले असारे विकासमा ध्यान नदिन र अरुबेला बजेट खर्च नगरेर अन्तिम चौमासिकको अन्तिम महिनामा खर्च गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने बताए।
उनले भने, ‘‘असारमा खर्च गर्ने बानीको हामीले अन्त्य गर्नुपर्छ। बलियो इच्छाशक्तिका साथ काम गरेमात्र प्रदेशको विकास सम्भव छ।’’ मुख्यमन्त्री राईले कर्मचारीहरुलाई समायोजनलगायतका बहानामा मनस्थिति नबिगार्न आग्रह गरे।
अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न निर्देशन दिँदै उनले उत्पादनमुलक र रोजगारमुलक क्षेत्रमा बजेट खर्च गर्न आग्रह गरे। यो आर्थिक वर्षको बाँकी रहेको समय अलिकति पनि खेर नफाल्न मुख्यमन्त्री राईको निर्देशन थियो।
प्रगति समीक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रदेशका प्रमुख सचिव केदान न्यौपानेले सचिवहरुलाई समन्वय गरेर काम गर्न निर्देशन दिए। प्रदेश सरकारले हरेक चार महिनामा मन्त्रालयगत रुपमा कामको समीक्षा गर्दै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानून सचिव भरतमणी रिजालले जानकारी दिए।