Swornakshar Logo

दार्चुलामा जीप महाकाली नदीमा खस्यो

१७ फागुन । दार्चुला । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको म १ ज २८० नं को जीप महाकाली नदीमा खसेको हो ।

जीप दुर्घटनामा परी मानवीय क्षति भए पनि सङ्ख्या यकिन हुन सकेको छैन । जीप चालक दीपकसिंह धामी घाइते भएका छन् । घाइतेलाई गाडीमार्फत अस्पताल पठाइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।

राति ८ बजे जीप दुर्घटना भएको स्थानीयवासी हिक्मतबहादुर वमले बताए । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो । पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको छ । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । राति भएकाले उद्धारमा समस्या भएको स्थानीयवासी वमले बताए ।
अहिले स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन् ।