Swornakshar Logo

मकवानपुरमा करोड मुल्य बराबरको लागूऔषध बरामद

९ फागुन । हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाबाट करोडौ मुल्य बराबरको लागूऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीवार पत्रकार सम्मेलन गर्दै बरामद लागूऔषध सार्वजनिक गरेको छ ।

कैलाश गाउँपालिका १ डाडाँखर्कस्थित मेवा भन्ने चन्द्रबहादुर घलानको घरबाट लागुऔषध चरेश २ सय ६७ पोकामा २ सय ७३ किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । घलानले गोठमा लुकाइ राखेको अवस्थामा ५ वटा सेतो बोरामा चरेश बनाउनको लागि तयारी लागुऔषध गाँजाको धुलो १ सय ९० किलो फेला पारेको हो ।

प्रहरी निरीक्षक तथा प्रवक्ता मधुकुमार थापाका अनुसार २ सय ६७ पोका चरेशको नेपाली बजार मुल्य ७४ लाख रुपियाँ भन्दा बढी र गाँजाको धुलोको करिब १९ लाख रुपियाँ भन्दा बढी रहेको जानकारी दिए ।

प्रहरीले लागुऔषध चरेशसमेतको कारोबारमा संलग्न रहेका धादिङ गजुरी गाउँपालिका ८ किराञ्चोक तीनघरे बस्ने पशुपति भन्ने ३६ वर्षीय जीवन तामाङ र घरधनी ४३ वर्षीय घलानलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।