Swornakshar Logo

दिगो विकासका लागि जनसहभागिता अपरिहार्यः मुख्यमन्त्री पौडेल

११ माघ । दोलखा । ३ प्रदेश नम्बरका मुख्यमन्त्री डोरमणि पौडेलले दिगो विकासका लागि जनसहभागिता अपरिहार्य रहेको बताएका छन् । चरिकोटस्थित भीमेश्वर नगरपालिकाको २३ औँ स्थापना दिवसको उद्घाटन गर्न शुक्रबार दोलखा पुगेका पौडेलले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले परनिर्भरताको कारण दिगो विकास हुन नसक्ने दाबी गरेका छन् । उनले कुनै सामाजिक काम सम्पन्न गर्न दाताको मात्रै भर पर्ने र आफू चाहिँ जिम्मेवारीबाट पन्छिने परम्परा अन्त्य हुनु पर्ने बताए ।

उनले दोलखाको सम्भाव्यता पहिल्याएर त्यसको विकास र व्यवस्थापन गर्दै आर्थिक वृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले चरिकोट, जिरी र शैलुङ लगायत पर्यटकीय स्थललाई प्रदेशको मुख्य गन्तव्यमा विकास गर्न प्रदेश सरकार कृयाशिल बताए।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरपालिकालाई समुन्नत नगर बनाउन शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकासमा योजनाबद्ध ढंगले काम सुरु गरिएको उल्लेख गर्दै दोलखालाई नेपालको मुख्य पर्यटकीय गन्तव्य बनाउने गरी काम गरिरहेको बताए ।