Swornakshar Logo

तोकिएको स्थानमा नजाने कर्मचारीलाई बिदा गरौंःप्रचण्ड

१३ पुस । काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको स्थानमा नजाने कर्मचारी बिदा गर्नु पर्ने बताए ।
उनले भने ‘सिंहदरबारमा केन्द्रित भएको अधिकार गाउँ गाउँमा पुगोस् भन्ने उद्देश्यले संघीयता र गणतन्त्रको ल्याएको हो ।’

काभ्रे जिल्लाको चौरी देउराली —२ स्थित श्री खाँडादेबी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई आज शुक्रबार सम्बोधन गर्दै उनले भने ‘राज्यको शक्ति विकेन्द्रित भएर जनताको घरदैलोमा लैजान हजारौंको बलिदान भएको छ ।’

प्रचण्डले भने, ‘तर अहिले कतिपय कानूनको अभावमा या कर्मचारी समायोजनको अन्यौलताका कारणले ढिला भएको पक्कै पनि हो ।’ राष्ट्र सेवक भनिएका कर्मचारी संविधानको मर्म र भावना अनुसार र ऐन कानूनको व्यवस्था अनुसार देशको कुनै पनि भागमा सरकारले खटाए अनुसार जानुपर्ने उनको भनाई थियो । ‘यदि जान तयार नहुने हो भने राज्यले बिदा गर्दिनु पर्दछ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन तिर लाग्नु पर्दछ ।’ उनले अब ऐनहरु बन्न थालेको बताउँदै संघ, प्रदेश र स्थानीय सबैतिर कर्मचारी सामायोजनको प्रक्रियाको सुरुवात हुन लागेको बताए ।

उनले पार्टीको स्थायी समिति बैठकमा सर्वसम्मत निर्णय गर्दै सफलताका साथ सम्पन्न भएको बताए । लोकतान्त्रिक वातावरणमा छलफल गरी बैठक सम्पन्न भएको बताउँदै पुस महिनाभित्र तलैसम्म पार्टी एकता गरी सक्ने स्थायी समितिको निर्णय भएको बताए।

प्रचण्डले भने, ‘संविधानसभाको निर्वाचन गरेर नेपालको इतिहासका हामी गौरवशाली पुस्ता भयौं । त्यो संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । एउटा देशमा संविधानसभाको निर्वाचन एक पटक मात्र हुन्छ । हामी यसका सहभागी, साक्षी र सहयात्री बन्यौं । नेपाली जनताले २०१९ साल पछि यी कम्युनिष्ट भन्नेहरु मिलिदिए हुन्थ्यो भन्ने चाहाना राख्दै आएका थिए । तर अहिलेसम्म पुरा हुन नसकेको कुरा पनि तपाई हामी नै साक्षी बसेर र सक्रिय भएर हाम्रै सहभागितामा कम्युनिष्ट पार्टीको बलियो एकता कायम भयो । अहिले नेपालमा एउटा बलियो र स्थिर सरकार बनेको छ, जसले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएर जाने संकल्प गरेको छ । यो पनि नेपाली इतिहासमा एक पटक हुने कुरा हाम्रै पालामा भयो ।’