Swornakshar Logo

राष्ट्रपति भण्डारी स्वयम्भू परिसरको वृक्षरोपण कार्यक्रममा सहभागी

२७ असोज ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गरेकी छन।

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालयमा बहुमूल्य बोधिचित्तको विरुवा रोपिन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले सङ्ग्रहालयको अवलोकन समेत गरिन । सङ्ग्रहालयका प्रमुख प्रा डा धर्मराज डङ्गोल, डा इशान गौतम र निर्मला प्रधानले संग्रहालयको वस्तुस्थितिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील विभिन्न निकायका प्रमुखरप्रतिनिधिले वृक्षरोपण गरेका थिए ।

विसं २०३२ साउन २ गते स्थापना भएको उक्त सङ्ग्रहालयमा दुई टाउके सर्प, एक टाउको र दुई जीउ भएको सुगुर, बाख्राको आठ खुट्टे पाठी, कुखराको चार खुट्टे चल्ला, सेता काग, नेपालबाटै लोप भइसकेको रामगाई र आदिमानव रामानिपिथेकसको बङ्गरा लगायत दुर्लभ नमूना सङ्ग्रहित छन् ।

सङ्ग्रहालयका प्रमुख प्रा डा डङ्गोलले घुम्ती प्रदर्शनी, सेमिनार, गोष्ठी, तालीम सञ्चालन गरी जैविक विविधताको संरक्षणमा सङ्ग्रहालयको महत्व र संरक्षण शिक्षाबारे जनचेतना अभिवृद्धि गर्ने गरिएको बताए ।