Swornakshar Logo

दशैंमा तेल नपाएर लाइन लाग्नुपर्ने अवस्था आउँदैनःआयल निगम

२२ असोज । काठमाडौं । प्रायः दशैंअघि र पछि देशभरका पम्पहरुमा उपभोक्ताको लामो लाइन लाग्छ । नेपाल आयल निगमले दशैंमा आफ्ना तेल डिपोहरु बन्द गर्दा यस्तो समस्या हरेक वर्ष दोहोरिने गर्छ ।
आयल निगमले यो वर्ष तेलको लाइन नलाग्ने गरी डिपोहरुको व्यवस्थापन गर्ने बताएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले यो वर्ष काठमाडौंमा पम्पहरुमा तेलको लाइन नलाग्नु पर्ने बताए।

भट्राईले भने ‘हामी थानकोट डिपोलाई दशैंमा एक दिन बन्द गरे अर्को दिन खोल्छौं । बजारमा तेलको माग हुनासाथ आकस्मिक रुपमा डिपो खोल्ने प्रवन्ध मिलाउँछौं । यो वर्ष तेलको अभाव हुने अवस्था आउन दिँदैनौं ।’

भट्टराईले भने ‘दशैं नजिकिएसँगै तेलको माग धेरै बढेको र अहिले काठमाडौंमा पेट्रोल मात्रै दिनको ७ लाख लिटरसम्म खपत भइरहेको छ । डिजेल पनि ९ लाख लिटरसम्म बिक्री वितरण भइरहेको छ ।’

‘दशैंमा तेलको माग बढ्छ । त्यसैले माग व्यवस्थापनका लागि आवश्यक सबै प्रवन्धहरु मिलाइसक्छौं,’ उनले दावी गरे,’तेलको आपूर्तिमा पनि दशैंमा समस्या आउँदैन ।’
भट्टराईका अनुसार तेलको आपूर्तिका लागि भारतीय आयल कर्पोरेशन९आईओसी०सँग पनि समन्वय गरिने छ ।

भट्टराईले भने,‘हाम्रो आपूर्ति प्रभावित नहुने गरी व्यवस्थापन गर्न आईओसीलाई भनेका छौं ।’

दशैंको समयमा लामो दूरीमा जाने सवारीहरु बाक्लो मात्रामा चल्छन् । त्यसकारण देशभर नै तेलको माग ह्वात्तै बढ्छ ।

निमगले सप्तमीदेखि नै डिपो बन्द गरिदिएर बजारमा तेल नपठाउने गर्दा दशैंपछि पम्पहरुमा लामो लाइन देखिने समस्या हरेक बर्ष दशैमा देखिन्छ ।

भट्टराईले भने यो वर्ष उपभोक्तालाईसहज रुपमा तेल उपलब्ध गराउने गरी नै योजना बनेको र त्यसैअनरुप कर्मचारीहरुको परिचालन गरिने छ।