Swornakshar Logo

संस्कृति जगेर्ना गर्न चङ्गा चेट प्रतियोगिता

१७ असोज ।
हेटौंडा । नेपालीहरुको महानचाड विजया दशैको अवसर पारेर हेटौंडामा चङ्गा चेट प्रतियोगिता हुने भएको छ ।
संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यस वर्ष चङ्गा चेट प्रतियोगिता गरिने भएको छ। प्रतियोगिता यही असोज २७ गते हुने भएको छ ।
जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडा ४ को आयोजनामा नगद पुरस्कारसहित चङ्गा चेट प्रतियोगिता हुने भएको छ । हेटौंडा–१, जरुवाटोलमा खुला मैदानमा हुने प्रतियोगितामा करिब ६५ जनाले सहभागिता जनाउने अनुमान आयोजकले गरेको छ ।

आयोजक संस्थाका अध्यक्ष रविन्द्र शाहीले भने‘संस्कृतिको जगेर्ना गर्ने र प्रतियोगिताबाट बचेको रकम हाम्रो संस्थाको उद्देश्य प्राप्तिका लागि खर्चेने गरी कार्यक्रम आयोजना गरिएको हो।’ उनले भने ‘प्रतियोगितामा पहिलो हुनेलाई नगद दश हजार रुपियाँसहित ट्रफि दिइने छ । द्वितीय र तृतीयलाई नगद पाँचहजार र दुईहजार पाँचसय रुपियाँ दिइने छ । आकर्षक चङ्गा र उत्कृष्ट उडान भर्नेलाई समेत ट्रफिको व्यवस्था गरिएको शाहीले बताए ।

प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क एकहजार रुपियाँ तोकिएको छ । सहभागी सवैलाई चङ्गा, लटाई र टी–सर्ट प्रदान गरिनेछ । धागो भने सहभागी स्वयम्ले ल्याउनुपर्ने छ ।