Swornakshar Logo

खानेपानी मन्त्रालयका कर्मचारीलाई विदेश भ्रमणमा रोक

२ असोज ।
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुलाई विदेश भ्रमण जानमा रोक लगाएकी छिन् ।
खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार आकस्मिक बैठक बोलाएर मन्त्री मगरले कर्मचारीहरुको अनावश्यक विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेकी हुन् ।
उनले मन्त्रालयका सचिव, सहसचिव र मन्त्रालय मातहतका विभिन्न निकायका विभागीय प्रमुखहरुलाई मन्त्रालयमा बोलाई विदेश भ्रमण रोक्न निर्देशन दिएकी हुन् ।
बैठकमा बोल्दै मन्त्री मगरले अहिले काम गर्नुपर्ने बेला आएकाले भ्रमण रोक्नु अति आवश्यक रहेको बताइन् । उनले कर्मचारीहरुलाई निर्देशन दिंदै भनिन्, ‘अहिले काम गर्ने बेला हो । जनताले सरकारसँग राखेको अपेक्षा पुरा गर्नुपर्ने समय हो । यो समयमा अति आवश्यक भए मात्र भ्रमणमा जाने हो । नत्र भ्रमणमा नजानुहोला । मन्त्रालयसँग जोडिएर आएका कतिपय नकारात्मक समाचारहरुले हामीलाई राम्रो गर्दैन ।’
उनले बैठकमा भनिन्, ‘म आफैं पनि भ्रमणको आवश्यकता हेरेर मात्र जान्छु नत्र जाँदिन । तपाईंहरु पनि नजानु होला । अति आवश्यक भए मात्र भ्रमण स्वीकृत हुन्छ, नत्र हुँदैन ।’ सो अनुसार गर्न उनले मातहतका अधिकारीहरुलाई निर्देशन दिइन् ।

देशैभरि ढलको अनुगमन

यसैगरी खानेपानी मन्त्रालयले देशैभरि ढलको अनुगमन गर्ने भएको छ । मन्त्रालयको मंगलबारको बैठकमा मन्त्री बिना मगरले देशभरि नै ढलको समस्या बढ्दै गएको भन्दै व्यावसायिक अपार्टमेन्ट, उद्योग, संयुक्त आवास र अस्पताल लगायत विभिन्न क्षेत्रका ढलहरुको अनुगमन गर्ने बताइन् । प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नुपर्ने नीतिगत व्यवस्था गर्न लागिएको उनले जानकारी दिइन् ।
मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका अस्पताल, उद्योग, अपार्टमेन्ट र संयुक्त आवासको ढल अनुगमन गर्न विशेष कार्यदल समेत गठन गरेको छ । खानेपानी तथा ढल निकास विभागकी उपमहानिर्देशक मीना श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय काठमाडौं उपत्यका ढल अनुगमन तथा निरीक्षण व्यवस्थापन कार्यदल गठन गरिएको हो ।