Bagmati Samachar Logo

एसपी र अन्य दुईको डिएनए रिपोर्ट मिलेन, निर्मलाका बुबा भन्छन्, न्यायको आशा मर्यो तर लड्छु

१४ असोज ।
काठमाडौं । गत असार १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको ‘भेजिनल स्वाव’ कञ्चनपुरका तत्कालीन एसपी डिल्ली विष्ट, उनका छोरा र अर्का एकजना व्यक्तिको डिएन रिपोर्ट ‘नेगेटिभ’ आएको बाहिरैबाट थाहा पाएपछि निर्मला पन्तका बुबा यज्ञराज पन्तले न्यायको आशा मरेको बताएका छन् ।

उनले भनेका छन् ‘कञ्चनपुर प्रहरीले रिपोर्ट सार्वजनिक गरेको छैन । तर मैले विभिन्न माध्यमबाट रिपोर्ट मिलेन भन्ने थाहा पाएको छु । यो सबै सरकारले हामीलाई न्याय नदिन खोजेको हो । सरकारप्रति र यो छानबिन प्रति नै हाम्रो अब विश्वास रहेन ।’

उनले ‘यो सरकारले न्याय दिने भए त घटनालाई अहिलेसम्म तोडमोड गर्दैन थियो होला । जुन ठाउँबाट अनुसन्धान गर्नु पथ्र्यो त्यो गरेन अब त न्यायको आशा नै मरिसक्यो यज्ञराज पन्तले भने ।’

उनले थपे ‘यो घटनासँग जोडिएका धेरै मानिसलाई छानबिनबाट टाढा राखियो । साजन बुढा ऐरलाई अहिलेसम्म प्रहरी र छानबिन टोलीले एक पटक पनि खोजेन । यो घटनासँग जोडिएका मानिस हुन् । अहिले उनलाई नेपालगञ्जमा लुकाएर राखेको छ भन्ने सुनेको छु ।’

उनले भने ‘जुन घरबाट यो घटनाको सुरुवात भएको हो, त्यो घरका मानिस छोडेको दिनबाट नै हामी सधैैं भरी अन्यायमा पर्ने छौं भनेर सोचेको थिएँ त्यही भयो ।’

‘यदि यो सरकारले हामीलाई न्याय नै दिन चाहेको थियो भने यतिका महिना किन लगाउँथ्यो छानबिन गर्न र डिएनए टेस्ट गर्न । त्यसकारण सरकारको नियतमा नै खोट छ । यो सबै त हाम्रो आँखामा छारो हाल्न रचेको नाटक न हो ।’ उनको आरोप छ । ‘‘
‘जसरी अहिलेसम्म सबैले मलाई साथ दिएका छन त्यसरी नै साथ दिएमा राज्यका विरुद्ध, न्यायको पक्षमा लडिरहने छु । यसमा पत्रकारहरुले पनि सहयोग गरिदिनु पर्यो ।’ उनको भनाइ छ ।

उता कञ्चनपुरका जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) कुवेर कडायतले भने ‘तीनै जनाको डिएनए रिपोर्ट मिलेन । आज हामीले काठमाडौंबाट आएको शिलबन्दी रिपोर्ट खोलेर हेरेका छौं ।’