Swornakshar Logo

स्वर्गद्धारी विमानस्थलको लागत ७७ करोड

९ असोज ।
काठमाडौ‌ । पाँच वर्षयता चर्चामा रहेको स्वर्गद्धारी विमानस्थल निर्माण प्रक्रिया अघि बढेको छ । स्वर्गद्धारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा बिमानस्थल वातावरणीय प्रभाव मूल्यांकनसँगै निर्माण कार्य प्रक्रियागत रूपमा अघि बढेको हो । शनिबार स्थानीयसँग मूल्यांकको अन्तीम प्रतिवेदनका वारेमा छलफल गरिएको छ । नागरिक उड्डयन प्राधिकरणमार्फत मूल्यांकनको जिम्मा पाएको परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्टले वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी सार्वजनिक सुनुवाइ गरेको हो ।

विमानस्थलका लागि ६० दशमलव ७९ हेक्टर क्षेत्रफल आवश्यक पर्ने अध्ययनले देखाएको छ । विमानस्थल निर्माणको प्रक्रिया अघि बढेपछि जिल्लावासी उत्साहित भएका छन् । “वातावरणीय प्रभाव मूल्यांकनसँगै विमानस्थल निर्माणको बाटो खुलेको छ,” नेकपाका नेता विजयविराज विष्टले भने, “अब डीपीआरको काम अघि बढ्छ ।” नियमित काम अघि बढेमा ६ महिनाभित्र डीपीआर तयार भई निर्माण कार्य अघि बढ्ने उनले बताए ।

१ हजार २ सय ५० मिटर लम्बाइ र चौडाइ ३० मिटर रहनेछ विमान स्थल निर्माणमा प्रस्तावित लागत ७७ करोड छ । आयोजना निर्माणले चाल्नेटारका २० घरधुरी प्रत्यक्ष रूपमा विस्थापित हुनेछन् । आयोजना निर्माण गर्दा ५५ दशमलव १८ हेक्टर राष्ट्रिय वन अन्तर्गतको हरियाली सामुदायिक वनको अधिग्रहण हुने देखिएको छ । शनिबार भएको छलफलमा स्थानीयले घर र जमिनको उचित मुआब्जा दिन माग गरेका छन् ।

प्रसिद्ध धार्मीक पर्यटकिय स्थल स्वर्गद्धारीलाई लक्षित गर्दै विमान स्थल निर्माणको प्रस्ताव अघि बढेकाले स्वर्गद्धारीको विकास र व्यावसायिक क्रियाकलापमा समेत टेवा पुग्ने यहाँको सरोकारवालाहरू बताउँछन् । प्रस्तावित विमानस्थलदेखि स्वर्गद्धारी आश्रम झन्डै १५ किलोमिटरको दूरीमा छ । आश्रमका अनुसार वार्षिक ५ लाख बढी पर्यटक स्वदेश तथा विदेशबाट आउने गरेका छन् । विमानस्थल सञ्चालनसँगै जिल्लाको व्यापार व्यवसायमा समेत टेवा पुग्ने प्यूठान उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए ।

जिल्लालाई काठमाण्डौ, भैरहवा, धनगढी, नेपालगञ्ज, पोखरा, भरतपुर, विराटनगरका साथै अन्य पहाडी जिल्लाहरूमा हवाई सम्पर्कको सुविधा उपलब्ध गराउनेछ । नेकपाका नेता वामदेव गौतमले २०७० सालको निर्वाचनमा बिमानस्थल निर्माणलाई प्राथमिकता दिएका थिए । निर्वाचनमा विजयी भएसँगै विमानस्थलको फिल्ड सर्भे सुरु भएको थियो ।