Bagmati Samachar Logo

सचिवालयमा एकमतको प्रतिवेदन लैजान्छौँ, नेतृत्वले छोड्नु पर्दैन : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले पार्टी पुनर्गठन र चुनावी समीक्षासम्बन्धी कार्यदलले केन्द्रीय सचिवालयमा एकमतको साझा प्रतिवेदन पेस गर्ने निर्णय गरेको बताइन् ।

कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र फरक–फरक प्रतिवेदन तयार भएको भन्ने चर्चालाई खण्डन गर्दै एकीकृत प्रतिवेदन नै सचिवालयमा जाने स्पष्ट पारेकी हुन् ।

बैठकमा एमालेलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ । प्रतिवेदनमा समेटिनुपर्ने विभिन्न विषयवस्तु र तिनका विविधतामाथि विस्तृत छलफल गरी कार्यदलबाट सर्वसम्मत रूपमा प्रतिवेदन सचिवालयमा पेस गर्ने निर्णय भएको अर्यालले दाबी गरिन् ।

सञ्चारमाध्यममा आएजस्तो तीनवटा प्रतिवेदन नभएको प्रस्ट पार्दै उनले भनिन्, ‘३ वटा प्रतिवेदन होइन, ती केवल विषयगत मस्यौदाहरू मात्र थिए । हिजो विभिन्न कोणबाट आएका सुझाव मस्यौदा हुन् । कार्यदलले एकीकृत गरेर फाइनल गरेपछि मात्र त्यो प्रतिवेदन हुन्छ । आज संयोजकज्यूले मस्यौदा पेस गर्नुभयो, त्यसमा आवश्यक थपघट गरेर हामीले पारित गरेका छौँ ।’

यसैगरी, पार्टी पुनर्गठनको सन्दर्भमा नेतृत्व परिवर्तनको विषय समावेश हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा सचिव अर्यालले नेतृत्व पुनर्गठनको विषय दस्ताबेजमा नआउने स्पष्ट पारिन् ।