एमाले पुनर्गठन प्रतिवेदन टुंग्याउन तीन नेता छलफलमा
काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन टुंग्याउन तीन नेता छलफलमा जुटेका छन्।
आइतबार दिउँसो कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल छलफलमा जुटेका हुन्। उनीहरू प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि छलफल गरिरहेका छन्।
यसअघि बसेको कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति जुटेको थियो। त्यसकै आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिन तीनै जना छलफल गरिरहेको एक नेताले जानकारी दिए।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा बादल र पोखरेलका अलग अलग प्रतिवेदन आएका थिए । त्यसपछि विवाद झन बढेको थियो । अध्यक्ष ओलीले नेता प्रदीप ज्ञवालीलाई तेस्रो प्रतिवेदन लेख्न लगाएका थिए । ज्ञवालीको प्रतिवेदनमा पनि ओलीको गुणगान गाएको भन्दै नेता कार्यकर्ताहरुले आलोचना गरेका थिए ।
तर आज ओलीको राजीनामा नमाग्ने सहमति भएपछि फेरि प्रतिवेदन एउटै बनाउन तीन जना नेताहरु जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्: