रास्वपामा रवि–बालेन सम्बन्ध बिग्रेको हो र ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच विवाद भएको कुरा राजनीतिक वृतमा तिब्र रुपमा उठि रहेको छ । जसका कारण अनेक अडकलबाजी भइरहेका छन् ।
अझ पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनपछि विधानमा सभापति पक्षले गरेको हेरफेरले दुई पक्षबीच दुरी बढेको चर्चा चलिरहेको छ । तर शनिबार सभापति लामिछानेले अहिले राजनीतिक वृतमा चलेका हल्लाहरु हल्लामात्र भउको दाबी गरेका छन् ।
शनिबार आयोजित नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले सरकार र पार्टीभित्र असझदारी भएको भन्ने हल्लाहरू र्युमर अर्थात अफवाह मात्रै भएको बताएका छन् ।
उनले भने, ‘कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि, राजनीतिक रुपमा अप्ठेरो पर्यो कि, झगडा पो पर्यो कि भनेर र्युमरहरू आउँछन्, त्यो र्युमरहरूलाई आज विकेन्ड पनि हो, त्यो र्युमरहरूलाई आज स्न्याक्सको रुपमा ग्रहण गर्नुहोला । र्युमरहरू स्न्याक्स मात्रै हो । त्यसको खास त्यो भन्दा बढी भ्यालु केही पनि छैन ।’
उनले रास्वपाले प्राप्त अवसर अभुतपूर्व गुमाउन नचाहेको बताए । उनले भने, ‘हामी यो अवसर गुमाउन चाहँदैनौं । हाम्रो लागि होइन, यो आउने पुस्ताको लागि हो । नयाँ पुस्ताको यो उपस्थितिलाई, ४० वर्षमुनिका सांसद नै ४०र५० जना भएको यो अवसर, चानचुने अवसर होइन । कहिलेकाँही १८२ सांसदहरु सदनमा देखिरहँदा दुई चार जना साथीहरुको विषय चर्चाको विषय बन्लान । त्यो बेग्लै कुरा हो । तर हामी साच्चिकै प्रतिबद्ध भएर आएका छौं । सम्हाल्न सकिन्छ भनेर आएका छौं । किनकि युवाले हाँकेको कुनै पनि क्षेत्र तुलनात्मक रुपमा परिणाम दिएको छ । हामी पनि परिणाम दिन्छौं । फिक्स गर्नुपर्ने कुराहरु धेरै छन्उ ।’
सभापति लामिछानेले सरकारको उडानलाई गन्तव्यमा पुर्याएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिंडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्याउँछौं । हामी छौं । अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईंहरू जस्तै केही गरौं भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ । यात्रामा हिंडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ । तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने पनि हुँदैन । हामी सहि ढंगले असल नियतका साथ जहाजलाई गन्तव्यमा पुर्याउँछौं ।’
सरकारले आफूले गरेका बाचा पूरा गर्ने उल्लेख गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको बताए । सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता आफूहरूसँग रहेको उनको भनाइ थियो । उनले थपे, ‘हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गरेको होइन, हामीले हिस्ट्रिलाई प्रमिस गरेको हो । त्यसकारणले आफ्नो वाचा, प्रतिवद्धताबाट पछि हट्ने छुट हामी कसैलाई पनि छैन । आज पनि सरकारले वाचा गरेको छ, हामी धेरै मान्छेलाई रोजगारी दिन्छौं । हामीले भनेका भिडियोहरू यत्रतत्र छन् । भनेको समयमा भनेका वाचाहरू पूरा नभएको हुन सक्दछन् । तर हामी हार मान्दैनौं नि । किनभने हामीलाई हार मान्ने छुट नै छैन ।’
सरकारले चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले बिस्तारै काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: