केप भर्डेको आत्मघाती गोलले अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा
काठमाडौं । शनिबार बिहान अर्जेन्टिना र केप भर्डेबीच भएको खेलमा अर्जेन्टिनाले ३–२ को गोल अन्तरले खेल जितेको छ । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले २ गोलको विरुद्ध ३ गोल गरेर खेल जित्दै अन्तिम १६मा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलमा सुरुवाती अग्रता भने अर्जेन्टिनाले लिएको थियो ।

खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीको यो जारी विश्वकपमा सातौँ गोल हो । विश्वकपका सर्वाधिक गोलकर्ता बनेका मेस्सीको यो समग्रमा २०औँ विश्वकप गोल पनि हो ।
पहिलो हाफमा १–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा भने सुरुवातीमै गोल ब्यहोर्न पुग्यो । खेलको ५९औँ मिनेटमा केप भर्डेका लागि डेरोय डुआर्टेले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसपछि खेलको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

तर, खेलको १०३औँ मिनेटमा केप भर्डेका लागि सिड्ने लोपेस काब्रालले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए । दोस्रोपटक बराबरी गोल फर्काएको केप भर्डे त्यसपछि भने आत्मघाती गोलका कारण पराजित हुन पुग्यो ।
खेलको १११औँ मिनेटमा डाइनी बोर्जेसले आत्मघाती गोल गरेपछि केप भर्डे अर्जेन्टिनासँग ३–२ गोलअन्तरले स्तब्ध हुन पुगेको हो ।अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले अब क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्: