सरकारले संसद्को हुर्मत लियो : एमाले
काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले सरकारबाट पटक–पटक संसद्को हुर्मत लिने काम भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नीति तथा कार्यक्रमको प्रस्तुतिको बेलामा पनि प्रधानमन्त्रीका बारेमा प्रश्न उठेको बताए ।
उनले भने, ‘सदनलाई कुनै जानकारी नगराई एक्कासी अर्को मन्त्रीबाट जसरी टेबल गर्ने प्रयास भयो, यो नियमावली, संसद्को नियमावली, संविधान, सबै कुराको बर्खिलापमा छ ।’
संविधानको धारा ७६ को उपधारा १० ले प्रस्ट रूपमा प्रधानमन्त्री र मन्त्री सबै संघीय संसद्प्रति उत्तरदायी हुनेछन् भनेको उल्लेख गरे ।
अर्का सांसद गुरु बरालले पनि प्रधानमन्त्रीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरे । सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अन्देखा गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘प्रधानमन्त्रीले यहाँ आउन केले रोकेको छ ? कहाँ हुनुहुन्छ ? हाउसले थाहा पाउनुपर्यो ? उहाँ आउन नसक्ने उचित कारण भए अरू मन्त्रीले जवाफ दिन सक्छन् होला नि । तर प्रतिपक्षको यो भावनालाई सम्बोधन गरिरहेको छैन ।’


प्रतिक्रिया दिनुहोस्: