Bagmati Samachar Logo

रविले सांसदहरूलाई भने – तपाइ गुटबन्दी नगर्नुहोस्, पार्टी फुट्ने कुनै सम्भावना छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएका छन् ।

आइतबार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

‘म त यताको हो नि, म त उताको हो नि भनेको कारण मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ । हामी यत्तिकै एउटा कार्यकालको लागि मिलौँ न त भने होइन यो देशमो इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिँडेका साथीहरू हौं,’ सभापति लामिछानेले भने, ‘हामी व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिंडेका छैनौँ । त्यसकारण यो सब बन्द गर्नुपर्छ । यसको कुनै गुन्जायस नै छैन । सम्भावना नै छैन ।’

७० वर्षअघि राजनीतिक रुपमा मिल्नुपर्ने व्यक्तिहरू नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी उनको थियो । प्रधानमन्त्री शाही र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उनले प्रष्टोक्ति थियो ।

उनले आफूहरूलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमहरूप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरू राजनीतिक रुपमा परिपक्व भएको बताए ।

‘७० वर्ष अगाडि यो देशमा मिल्नुपर्ने मान्छेहरूबीच झगडा परेको कारणले हामी ७० वर्ष पछाडि परेका छौँ । त्यसकारण यो सम्भव छैन,’ उनले भने, ‘कहिलेकाँही मिडियाका साथीहरूले फुटाउने रहर लागेर अनेक हेडलाइन दिन्छन् । बडो मुख मिठ्याउनुहुन्छ । आई एम सरी, बास्ना त आउला तर खाना सर्भिस हुनेवाला छैन । वी आर पोलिटिकल्ली म्याचुअर ।’

उनले फरक प्रसंगमा बोल्दै सुकुमवासीहरूको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पनि पारे ।