Bagmati Samachar Logo

प्रधानमन्त्री र म दिगो सहयात्रामा छौँ, मिडियाका साथीहरूले मुख नमिठ्याउँदा हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र शाह पूर्ण समझदारीका साथ अघि बढिरहेको दाबी गरेका छन् । पार्टीभित्र कुनै समूह र गुट नबनाउन उनले आफ्ना सांसदहरूलाई आग्रह गरे । आज आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने क्रममा लामिछानेले यो गुट र त्यो गुट भन्ने कुरा सुनेर आफूहरू हाँस्ने गरेको बताए ।

यस्तो छ उनको भनाई :

साथीहरू, पार्टीमा कुनै समूह र गुट छैन । कसैले छ भन्यो भने पनि विश्वास नगर्न आग्रह गर्छु । कहिलेकाहीँ साथीहरुले बालेन(रवि, रवि(बालेन, म यताको, म उताको भनेको सुन्छौं । हामी यस्ता कुराहरु छलफल गर्ने गर्छौँ । बालेन–रवि, रवि–बालेन भनेको सुनेर प्रधानमन्त्री र म बडो हाँस्छौँ ।

म त यताको हुँ, उताको हुँ भनेकै कारणले मन्त्री नभएको साथीहरू हुनुहुन्छ । हामी छलफल गरी नै हाल्छौँ । हामी एउटा कार्यकालमा त्यत्तिकै मिलौँ न त भनेर होइन, इतिहास र यो देशको भविष्य सम्झेर सहयात्रामा हिँडेका छौँ । व्यक्तिगत कुरालाई आधार बनाएर हिँडेका छैनौँ । म यताको हो र उताको हो भन्ने बन्द गर्नुस् । यसको कुनै गुञ्जायस नै छैन ।

राजनीतिमा मिल्नुपर्ने मान्छेहरू झगडा गरेकाले हामी ७० वर्ष पछि परेका छौँ । मिडियाका साथीहरू अब त यिनीहरू फुट्छन् कि भनेर मुख मिठ्याउनुहुन्छ । बास्ना चल्ला, तर खाना आउँदैन । सर्भिस हुनेवाला छैन । वी आर पोलिटिकल्ली म्याच्योर्ड इनफ ९हामी राजनीतिकरूपमा परिपक्व छौँ० । हामी हुर्किसक्या छौँ । यति चैँ हुर्क्या छौँ । तपाईँहरूलाई कसैले म त यताको, उताको भनेर झुक्याइदेला । झुक्यानमा पर्नुभयो भने फेरि अर्को अवसरबाट वञ्चित हुनुहोला । त्यहिँ अल्मलिनुभएको छ भने यु टर्न लिइहाल्नुस् ।