Bagmati Samachar Logo

अब अध्यक्ष छाडेपनि पलायन हुन्नँ, देशमा एउटा ठूलो उथलपुथल ल्याउन मन छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनबाट आफू अध्यक्ष नरहेपनि सक्रिय राजनीतिबाट बाहिर नजाने बताएका छन्।

रुकुम पश्चिमको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमा बोल्दै उनले अब पार्टीमा नयाँ पुस्तालाई अगाडि ल्याउनेगरी अघि बढेको बताए।

उनले भने, ‘युवाहरूलाई कम्तीमा ५० प्रतिशतसम्म पुर्‍याउने गरी अघि बढ्नुपर्छ। हामी पुराना पुस्ताले क्रमशः जिम्मेवारी छोड्दै जाने बेला आएको छ। मलाई अब संयोजक वा अध्यक्ष बन्ने इच्छा छैन। तर पनि राजनीतिबाट पलायन हुन्न। राजनीति छोड्ने मेरो योजना होइन, बरु अन्तिमपटक एउटा देशमा एउटा ठूलो उथलपुथल गरेर मात्रै छोड्नपर्छ। म पलायन हुन खोज्या हो कि भन्ने नसोच्नुहोला, होइन। एउटा ठूलो क्रान्ति र आँधीबेहरी ल्याउने गरी जानुपर्छ। यसलाई नेगेटिभ अर्थमा नबुझ्नुहोला। पोजेटिभ अर्थमा भनेको।’

उनले पदमा नभए पनि प्रभावशाली नेतृत्व सम्भव हुने भन्दै माओ त्सेतुङ, तेङ स्याओ पिङ, नेल्सन मण्डेला र महात्मा गान्धीको उदाहरण दिए। पार्टी रूपान्तरण, नयाँ पुस्ताको प्रशिक्षण र आफ्नो भूमिका कायम राख्ने बताए।

उनले थपे, ‘इतिहासले बनाएको नेतृत्व पदमा नभए पनि नेतृत्व नै हुन्छ। यो नेतृत्वमा बसेको ४० वर्ष भइसक्यो। म नेतृत्वमा आएदेखि उथलपुथल बाहेक केही भएन नेपालमा। नेतृत्वमा आउने बित्तिकै पञ्चायत विरोधी आन्दोलन, जनयुद्ध, जनआन्दोलनतिर अर्को हाइटमा पुर्‍आउनेतिर गइयो। शान्ति सम्झौता भयो, संविधान सभा इत्यादि।’
नेकपाले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।