Bagmati Samachar Logo

एजेण्डामा होइन, आरोप प्रत्यारोपमा चुनाव लडिरहेका राजनीतिक दलहरु

काठमाडौं । भदौ २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा घिटन भयो । पाँच वर्षको लागि चुनिएको प्रतिनिधि सभा ३ वर्षमा नै विघटन हुनु पुग्यो । संसद विघटन भएपछि अहिले देश चुनावमा होमिएको छ । २१ फागुनमा चुनाव हुँदै छ । राजनीतिक पार्टीहरु अहिले चुनावी मैदानमा छन् ।

राजनीतिक दलहरू र तिनका उम्मेदवारहरूले आफ्नो र दलका एजेन्डा लिएर चुनावमा जानुपर्ने हो । चुनाव जितेपछि आफ्ना एजेन्डा, भिजन लागू गर्ने थलो हो । आफूले पाँच वर्षमा गर्ने कामको कार्ययोजना प्रस्तुत गरेर मतदातालाई रिझाएर चुनाव जित्नुपर्ने हुन्छ ।

चुनावमा दलले लिने वैचारिक, सैद्धान्तिक र कार्ययोजना लागू गर्ने गरी भिजन चाहिन्छ । आफ्नो दलकोे शिक्षा निति, स्वास्थ्य नीति, विकासको मोडेल के हुन्छ ? कानुन कस्ता किसिमका बन्छन् आदिका बारेमा प्रस्ट पारेर चुनावी मैदानमा होमिन्छन् हुन्छ ।

तर, जेन–जी आन्दोलनपछि विशेष परिस्थितिमा हुन थालेको चुनावमा एउटै मुद्दा उठेको पुराना भर्सेज नयाँ । नयाँ भनेको के हो ? कस्तालाई नयाँ भन्ने ? कस्तो कुरामा नयाँ हुन्छ ? कुनै लिखित दस्तावेज छैन । नयाँ हुनलाई के–के कुरा चाहिन्छ ? नयाँ हुनु भनेको व्यक्ति नयाँ हो ? भिजन नयाँ हो ? एक चुनाव लडेको पार्टी नयाँ हो कि जेन–जी आन्दोलनपछि खुलेका दल मात्र नयाँ हुन् कि ? सबै दलहरू यसमा अनभिज्ञ नै छन् ।

अहिले द्वन्द्व विचार र एजेन्डामा होइन, पुराना र नयाँमा छ । यो चुनावले नीतिगत बहस, एजेन्डाको बहसभन्दा पनि भावनात्मक र आरोप प्रत्यारोपको गोलचक्करमा चल्न सुरु भएको छ ।

अहिलेको चुनाव विचार, सिद्धान्त र एजेन्डाले भन्दा पनि आवेग र उत्तेजना बढी हावी भइरहेको राजनीतिक विश्लेषक डम्बर खतिवडा बताउँछन् । उनले भने, ‘जेन–जी आन्दोलनपछि हुन थालेको चुनाव राजनीति थिग्रिन नपाउँदै भइरहेको छ । यस्तो विचार, सिद्धान्त र एजेन्डाभन्दा आवेग, उत्तेजना हावी भएको छ । यस्तो समयमा जे पनि हुन सक्छ । अहिलेको चुनावमा पुराना नयाँको भाष्य बनाए पनि रास्वपा नयाँ होइन । दुईपटक गृहमन्त्री रास्वपाका सभापति भएका हुन । पुराना भनेका पार्टीसँग सरकार चलाएर नयाँ भन्न मिल्दैन ।’

यो चुनावमा एजेन्डा नहुँदा उम्मेदवारहरूले जनताका वास्तविक समस्या के छन्, समाधानका उपायहरू के हुन सक्छन् भन्नेतर्फ ध्यान दिएको देखिँदैन । छ त केवल पुरानालाई हटाउने र नयाँलाई भोट दिने तर जितेर के गर्ने भन्ने विषयमा मतदातालाई भन्न सकेका छैनन् ।

चुनावपछि आफ्नो पार्टीको सरकार बनेमा आर्थिक नीति कस्तो हुने, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास कसरी गर्ने भन्ने कुनै खाका छैन ।

अहिलेको चुनावले केवल अनुहार परिवर्तन खोज्नाले नै एजेन्डा र राजनीतिक सिद्धान्त ओझेलमा परेको खतिवडा बताउँछन् । उनले भने, ‘राजनीतिक सिद्धान्त र एजेन्डालाई ओझेलमा पारेर पुरानालाई विस्थापित गरेर नयाँ ल्याऊ भन्ने भाष्य नै गलत छ । नयाँ हुनलाई विचार र राजनीतिक एजेन्डा चाहिन्छ । यहाँ त पुरानासँग सरकार बनाउने अझ नयाँ भन्ने प्रवृत्ति नै गलत छ । जेन–जी आन्दोलन एकातर्फ छ । यहाँ अहिले हावामा चुनाव चुनाव भन्ने भएको छ ।’

अहिलेको चुनावले निष्कर्ष दिने कुरामा पनि आशंका व्यक्त गर्छन् खतिवडा । उनले भने, ‘चुनाव जितेर आउनु मात्र सबै कुरा होइन । एजेन्डाविहीन राजनीतिमा कुनै परिवर्तन आउँदैन । प्रवृत्ति र कार्यशैली उस्तै हुन्छ, जसबाट केही निष्कर्ष निस्कँदैन ।’

आफू कसरी काम गर्छौं भन्नेभन्दा पनि अर्कोलाई खराब देखाएर चुनाव जित्ने रणनीति देखिन्छ । राजनीतिक दलहरूले अहिलेसम्म आफ्नो घोषणापत्र ल्याएका छैनन् । दलहरू अहिले घोषणापत्रबिनाको चुनावी अभियानमा जुटेका छन् ।

राजनीतिक दलहरूले नयाँ कि पुरानो भनेर राजनीतिक बजारमा एजेन्डा सेट गरिरहेका छन् । तर, जेन–जी आन्दोलनपछि एजेन्डा सेट गर्ने गरी नयाँ दल बनेका छैनन् । कोही धेरैबीच एकता गरेर नयाँ नाममा आएका छन् । कोही दुईपटक सरकारमा जाँदा पनि नयाँ भनिरहेका छन् । कसैले चुनावी सरकारमा सहभागी भएर दल खोलेका छन् । अहिलेको चुनावी मैदानमा भएका कुनै पनि दल र व्यक्तिहरू परीक्षण हुन बाँकी छैनन् ।

जब पुरानाले केही गरेनन् भन्ने हो भने नयाँले पनि त जनताको भावनाअनुसार काम गर्छन् भन्ने के विश्वास, निश्चित रूपमा त्यस्तो काम गर्छन् भन्ने पुष्टि कसरी गर्ने ? जनताले उनीहरूका कुरामा मात्र विश्वास गर्नुपर्ने हो ? नयाँ भन्नेहरू पनि कति नयाँ ?

पहिलोपटक २०८२ साल मंसिरमा दर्ता भएका नयाँ पार्टी कि, एउटा चुनाव लडिसकेका नयाँ वा नयाँ नाममा नयाँ दल बनाएका पुरानै नेताले बनाएका नयाँ दल वा अरु केही ? पुराना भनेपछि कति पुराना ? २०१५ सालको चुनावदेखि लगातार चुनावमा भाग लिरहेका वा २०४८ सालको चुनावमा भाग लिएका वा २०६४ सालको चुनावमा भाग लिएका वा यस्तै अरु ?

राजनीतिमा हिरोपन्थी सबैभन्दा खतरनाक हुने राजनीतिक विश्लेषक केशव दाहाल बताउँछन् । उनको भनाइ छ, यो चुनावको सबैभन्दा बलियो पक्ष राजनीतिमा नयाँ पुस्ताको सहभागिता र क्रमभंगता हो । तर, सबैभन्दा कमजोर पक्ष हो– राजनीतिक चरित्रको क्षयीकरण । २०१५ सालदेखि यताका प्रायः सबै चुनाव एजेन्डाकेन्द्रित थिए । तर, यो चुनावमा फगत भावना छ– एजेन्डा छैन । अर्थात् ‘देश बनाउने’ नारा छ, तर देश कसरी बन्छ, त्यसको कुनै खाका छैन ।’

यदि राजनीतिमा यसरी नै एजेन्डा हराउँदै गए भने, भोलिको राजनीति कस्तो होला भन्दै दाहाल प्रश्न गर्छन् ।

पुराना दलहरूले कति काम गरे ? के प्रतिबद्धता गरेर पूरा गरेनन् ? सबै हिसाबकिताब जनताले राखेका हुन्छन् । तिनको मूल्यांकन हुने समय चुनावमा नै हो । दलहरूले प्रतिबद्धता गर्ने तर पूरा नगर्ने चलन पुरानै हो भने त्यसको प्रतिफल उक्त दल र तिनका उम्मेदवारहरूले पनि भोग्दै आएका छन् ।

अघिल्लो चुनावमा गरेका प्रतिबद्धता अर्को चुनाव आउँदासम्म कति पूरा भए, कति भएनन् । पूरा नहुनुको कारण पनि जनताले सोधीखोजी गर्छन् ।

आफूलाई नयाँ भनिरहेका दलहरूसँग अहिले एजेन्डा नै नभएको पनि आरोप लागिरहेको छ । उनीहरूले सञ्चालन गर्ने राज्यव्यवस्था कस्तो हो ? विकासको मोडेल कस्तो हो ? कुनै खाका नभएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

घोषणापत्र आइसकेपछि मात्र एजेन्डा कसका कस्ता छन् भनेर थाहा हुन्छ, अहिले त यत्तिकै राजनीति चलिरहने लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् । उनले भने, ‘४ फागुनपछि उम्मेदवारहरू प्रचार–प्रसार गर्छन् । त्यो समयमा मतदातामाझ घोषणापत्र लिएर जान्छन् होला । अहिले त नयाँ पुराना चलिरहन्छ । ४ फागुनपछि पनि नयाँ पुराना चले सोच्नुपर्छ । अहिले त यस्तै फन्डा चलिरहन्छ ।’

चुनावको सुुरुवातमा एजेन्डाभन्दा पनि अधिकांश व्यक्तिकेन्द्रित प्रचारप्रसारमा छन् ।

उम्मेदवारहरूले एजेन्डाभन्दा पनि सामाजिक सञ्जालको प्रयोग गरेर व्यक्तिगत आरोप प्रत्यारोप हुने राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर बताउँछन् । उनले भने, ‘यो चुनावमा सबैभन्दा बढी प्रयोग प्रविधिको हुनेछ । यसले एजेन्डाविहीन राजनीतिलाई बढी प्रोत्साहन गर्छ । यसले विचार सिद्धान्त खोज्दैन । विदेश बसेकाहरूले नयाँ पुरानाको भाष्य तयार पारिदिन्छन् । यो चुनावमा नयाँ कोही छैनन् । सब परीक्षण भइसकेका छन् । जबर्जस्ती नयाँ पुरानाको भाष्य खडा गरिँदै छ । यो भनेको एजेन्डाविहीन राजनीति हो ।’

एजेन्डाविहीन राजनीति चुनावपछि अराजकतातर्फ जाने खतरा बढी हुने पिटर बताउँछन् । उनले भने, ‘विचार, सिद्धान्त र एजेन्डा भएको राजनीति त्यहीअनुसार अगाडि बढ्छ । तर यी तीनै चीजको अभाव भए राजनीति अराजकतातर्फ जान्छ । पुग्ने लक्ष्य हुँदैन । गन्तव्य हुँदैन । अनि कहाँ जाने, के गर्ने, केही थाहा हुँदैन ।’