Bagmati Samachar Logo

एमालेले सरकारमा जान जो कोहीसँग मिल्ने अवसरवादी चरित्र देखायो : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमाले सचिव गोकर्ण विष्टले एमालेले सरकारमा जानकै लागि जो कसैसँग मिल्ने दक्षिणपन्थी अवसरबारे समीक्षा हुनुपर्ने बताएका छन् । संस्थापनइतर समुहको पत्रकार सम्मेलनमा विष्टले निर्वाचनलक्षित विभिन्न राजनीतिक शक्तिसँग मिल्दा एजेन्डावेश र दशौँ महाधिवेशनको मर्मविपरीत राजनीतिक सहकार्य भएको तर्क गरे ।

‘हामीले दशौँ महाधिवेशनबाट दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतालाई परास्त गरौँ । जबजको मार्गनिर्देशनमा समाजवादको आधार तयार गरौँ भन्ने मान्यता राख्यौँ,’ विष्टले भने, ‘तर, यसबीचमा २०७९ को निर्वाचन यता हामीले कहिले राप्रपासँग, कहिले कांग्रेससँग, कहिले मधेशवादी दल त कहिले रास्वापासँग मिलेर सरकार बनायौँ । संवैधानिक रूपमा राजतन्त्रलाई औपचारिक घोषणामा राखेको राप्रपासँग समेत निर्वाचनमा मिलेर जाने अवसरवाद देखायौँ । यसको समीक्षा हुनु जरुरी छ ।’

नेता विष्टले एमाले नेतृत्वले राजनीतिक मुद्दा र सिद्धान्तमा आधारित नभई वैचारिक आधारहीन ढङ्गले कार्यगत एकता गरेको प्रति असन्तुष्ट व्यक्त गरे । उनले भने, ‘न्यूनतम सहमतिको आधारमा सरकार जाने कि वैचारिक निकटताका आधारमा सरकार निर्माण गर्ने ? वा राष्ट्रिय राजनीतिमा देखा परेका मुद्दाका आधारमा सरकार गठन गर्ने भन्ने कुरामा ध्यान दिन सकेनौँ ।’
विष्ट महाधिवेशनमा संस्थापनइतर समुहबाट महासचिव अथवा उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।