Bagmati Samachar Logo

सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू

काठमाडौं। सुनसरीको देवानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिँदै पूर्व–पश्चिम राजमार्गसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा सोमबार साँझ जारी गरिएको सूचना अनुसार आज राति ९ बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको हो ।

प्रशासनले राजमार्गको सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षाका लागि भन्दै इनरुवा नगरपालिका वडा नं. ३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपली टोल), पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि ५०० मिटर क्षेत्रसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

आदेशमा तोकिएको सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी पूर्ण रोक लगाइएको छ ।

प्रशासनले कर्फ्यू आदेशको उल्लङ्घन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी समेत दिएको छ ।

आइतबार राति कप्तानगन्जमा भएको झडप र प्रहरीको गोलीबाट ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले सोमबार दिनभर सुनसरीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले लौकी, भोक्राहा र इनरुवा खण्डमा राजमार्ग अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरेपछि र सवारी साधनमा तोडफोडको स्थिति सिर्जना भएपछि प्रशासनले यो कदम चालेको हो ।

यसअघि नै देवानगन्ज र हरिनगराका ५ वटा मुख्य बजार क्षेत्रमा कर्फ्यू जारी भइसकेको थियो । राजमार्ग क्षेत्रमा समेत कर्फ्यू लागेपछि अब सुनसरीको मुख्य यातायात र बजार क्षेत्र ठप्प हुने देखिएको छ ।

प्रशासनले भने राजमार्गमा रोकिएका सवारी साधनलाई सुरक्षा घेराभित्र राखेर गन्तव्यतर्फ पठाउने तयारी गरिरहेको जनाएको छ ।