Bagmati Samachar Logo

कांग्रेस, एमाले र माओवादीसहित आठ दलले भने – संसद विघटन मान्दैनौँ

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेपछि संसदका आठवटै दलका नेताले संयुक्त विरोध गरेका छन् । संविधानको धारा ७६ उपधारा (७) र सवोच्चकै फैसलाको नजिरविरुद्ध हुने भन्दै उनीहरूले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् ।

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने दल तथा नेताहरूमा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे, नेकपा (एमाले)का महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे, नेकपा (एस)का मेटमणि चौधरी छन् ।

यस्तै अन्य दल तथा संसदीय दलका नेताहरूमा जसपाका विरेन्द्र कुमार महतो, जनमतका अनिता देवी, लोसपाका रामप्रसाद चौधरी र नाउपाका रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उनीहरूले संयुक्त आवाजमा भनेका छन्, ‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संशोधन हुने वातावरण सिर्जना गर्न सबैसँग जोडदार माग गर्दछौँ ।’