संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने समाधान नस्वीकार्ने बारको चेतावनी
काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने, विरोध गर्ने जनाएको छ । बिहीबार बसेको बारको भर्चुअल बैठकपछि अपिल जारी गर्दै नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताको कायम राख्न अपिल गरेको हो ।
‘संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसोसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ । यसो नगर्न हार्दिक अनुरोध गर्दछौँ । अन्त्यमा, हालको संकटको निकास संवैधानिक मान्यताभित्र खोज्न जेन–जीलगायत सम्पूर्ण जनसमुदायमा नेपाल बार एसोसिएसन हार्दिक अपिल गर्दछ,’ बारले भनेको छ ।
यस्तै, संवैधानिक उपलब्धिहरूको सम्झौता नगर्न र राष्ट्रपतिको भूमिका यो बेलामा अहम् हुने बताउँदै सक्रियताको अपेक्षा रहेको बारले जनाएको छ । ‘देश जोगाऔँ, संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गरौँ, नेपाली भूमिमा नेपाली जनताको ढुकढुकीमा संविधान बचाऔँ । कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशितासहितको संघीयताजस्ता स्थापित संवैधानिक उपलब्धिहरूमा सम्झौता नगरौँ,’ बारले भनेको छ, ‘यस सन्दर्भमा संविधानबमोजिम राष्ट्रको अभिभावकको रूपमा राष्ट्रपतिको भूमिका अहम् रहेको स्पष्ट छ । यो मामिलामा सम्माननीय राष्ट्रपतिको सक्रिय र अनुभूत गर्न सकिने र देखिने सहभागिताको अपेक्षा गर्दछौँ । नागरिक शासन अविलम्ब कायम गरियोस् ।

प्रतिक्रिया दिनुहोस्: