कुलिङ पिरियडमा नैतिक जिम्मेवार ठहर्याएका रामहरिलाई संसदीय सुनुवाइ समिति सभापति बनाउदै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने तयारी गरेको छ। संसदीय सुनुवाइ समिति सभापति कांग्रेसकी प्रतिनिधि सभा सांसद ईश्वरीदेवी न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता गरेर निर्विरोध सभापति चयन भएकी थिइन्।
त्यसअघि राज्य व्यवस्था तथा सुशासन समिति सभापति सांसद रामहरि खतिवडा थिए। निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा त्रुटि भएको पाइएपछि संसदीय छानबिन समितिले सभापति खतिवडालाई नैतिक जिम्मेवार ठहर्याएको थियो भने उनले त्यसैका कारण प्रतिनिधि सभाको साउन २७ गते पदबाट राजीनामा दिएका थिए।
कांग्रेसले खतिवडालाई संसदीय सुनुवाइ समिति सदस्यमा लगेर उक्त समिति सभापति बनाउन,े तयारी गरेको छ । बिहीबार संसदीय सुनुवाइ समिति सभापति पदका लागि मनोनयन दर्ता हुँदैछ।
कांग्रेसले खतिवडालाई नै समिति सभापति पदमा पठाउने तयारी गरेको पार्टी नेताहरु बताउछन ।
खतिवडालाई राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमै दोहोर्याउने पक्षमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का थिए तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मानेनन्, त्यसपछि ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति बनाउने निर्णय भएको थियो।
कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटि राष्ट्रिय सभाबाट सच्चाइसकिएको अवस्थामा कांग्रेसले संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडालाई पठाउन लागेको हो।
कांग्रेसका ती पदाधिकारीका अनुसार प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई संसदीय सुनुवाइ समिति सभापति पदमा पठाउन खोजे पनि उनले मानेका थिएनन्।
खतिवडाले संसदीय समिति सभापतिभन्दा पनि आफू मन्त्री हुन पाउनु पर्ने कुरा पार्टी नेताहरुसँग राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्: