Bagmati Samachar Logo

एमाले नेता ऐन महरविरूद्ध मुद्दा दर्ता

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ।

महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप छ।

एक जना महिलालाई उनले सामाजिक सञ्जालमा लाइभ आएर चरित्रहत्या गरेको आरोप छ।

महरले ती महिलालाई मेसेज तथा स्टाटसमा समेत गालीगलौज गरेको पीडितको भनार्इ छ।

महर भदौ ११ गते प्रहरी समक्ष हाजिर भएका थिए। उनले सरकारी वकिलको कार्यालय काठमाडौंमा त्यही दिन बयान दिएका थिए।

बयान दिएसँगै उनी हाजिर जमानीमा छुटेका थिए।

महरले ती महिलाविरूद्ध पनि सोही कसुरमा जाहेरी दिएका छन्। भदौ ११ गते नै ती महिलाको पनि बयान लिएर हाजिर जमानीमा राखिएको थियो।