सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम
हेटौंँडा । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन मंगलबार बिहान चीन पुगेका छन्। उनी विषेश रेल चढेर चीन पुगेका हुन् । उक्त रेल बुलेटप्रुफ हो । उनी जहाँ जादा पनि रेलद्धारा यात्रा गर्ने गरेका छन् ।

फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको प्रतिरोधी युद्ध विजयको वार्षिकोत्सव अवसरमा चीनले सैन्य परेडमा लगायत कार्यक्रम गर्दैछ।
उक्त कार्यक्रममा सहभागी हुन सोमबार प्योङयाङबाट हिँडेका किम मंगलबार बिहान चीनमा प्रवेश गरेको उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिन्मुनले फोटो सहितको समाचार प्रकाशन गरेको छ ।
रोदोङ सिन्मुनले किमको परराष्ट्र मन्त्री चो सोन हुई लगायतका उनका सहयोगीहरूसँगको तस्बिरहरू पनि छापेको छ। तस्बिरमा उनीहरू हरियो रङ्गको रेलभित्रको डेस्कमा बसेर मुस्कुराउँदै गरेका देखिन्छन्। यो रेल किमले यसअघि अन्य देशहरूमा यात्रा गर्न प्रयोग गरेको ‘बुलेटप्रुफ’ रेलजस्तै देखिन्छ भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।
शत्रुहरूले हवाइजहाजमा यात्रा गर्दा आक्रमण गर्न सक्ने ठानेर किमका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङ पनि रेलमा यात्रा गर्थे। त्यही परम्परालाई निरन्तरता दिंदै किम जोङ उन पनि सुविधा सम्पन्न विशेष रेलमा यात्रा गर्छन्।
चीन पुग्नु अघि किमले सोमबार एक मिसाइल प्रयोगशालाको भ्रमण गरेको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ। उक्त प्रयोगशालामा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलका इन्जिनमा प्रयोग गरिने कार्बन फाइबर कम्पोजिट सामग्रीमाथि अनुसन्धान भइरहेको छ।
किम बुधबार बेजिङमा हुने सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत विभिन्न देशका राष्ट्र र सरकारप्रमुख सहित सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस्: