Bagmati Samachar Logo

नापी अधिकृतको अवैध सम्पत्ति झन्डै ६ करोड, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा रूपन्देहीका कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गैरकानुनी रूपमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो ।

राजनीतिक व्यक्ति र माथिल्लो विभागीय प्रमुखलाई प्रभावमा पारेर नापी अधिकृत प्रमुख रहने दरबन्दी रिक्त बनाई वर्षौंसम्म निमित्त कार्यालय प्रमुखका रूपमा रही यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगले ठहर गरेको छ। आयोगले यादव सार्वजनिक पदमा प्रवेश गरेको २०५३ असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्मको अवधिको परीक्षण गरेको थियो।

सो अवधिमा यादवले विभिन्न आयमार्फत रु नौ करोड तीन लाख ९५ हजार ४४४ वैध सम्पत्ति आर्जन गरेको देखिएको छ। सो अवधिमा यादवले रु १४ करोड ८३ लाख ५७ हजार ८८४ बराबरको खर्च तथा लगानी गरेको देखिन आएको छ। वैध आय र खर्चबीचको रु पाँच करोड ७९ लाख ६२ हजार ४४० बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगको ठहर छ।

आयोगले रु पाँच करोड ७९ लाख ६२ हजार ४४० बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति यादवले श्रीमती गायत्री यादव, छोराहरू सुधान्सु यादव र शुभम यादवका नाममा राखेको पाइएको आयोगले दाबी गरेको छ।

आयोगले उनीहरूविरुद्ध पनि प्रतिवादी कायम गर्दै मुद्दा दायर गरेको जानकारी दिएको छ ।