Bagmati Samachar Logo

शिक्षक कुटेर हिरासत पुगेका वडाध्यक्षलाई माओवादीले गर्‍यो निलम्बन

काठमाडौं । नेकपा माओवादी केन्द्र बाराले प्रसौनी गाउँपालिका( ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

पहिलादेखि नै विभिन्न प्रकरणमा मुछिएर प्रहरीको हिरासतमा पुगेको र २८ साउनमा शिक्षकलाई निर्घात कुटपिट गर्न लगाएको देखिएपछि पार्टीले निलम्बन गरेको बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठले बताए । उनले भने, ‘विभिन्न समयमा विभिन्न केसमा मुछिदै आउनु भएको थियो । पटकपटक सम्झाइबुझाइ गर्दा पनि मान्नुभएन । झन झन पदको ख्याल नगरि जथाभावि गर्न थाल्नु भयो । कुटपिट गर्ने, गुण्डागर्दी शैलि कहिल्यै नछोड्ने भएपछि कारबाही गरेका हौँ ।’

श्रेष्ठका अनुसार, वडाध्यक्ष कुशवाहाले रक्सि खाएको समयमा एक शिक्षकलाई बजारबाट घिसारेर निर्घात कुटपिट गरेका थिए । शिक्षकको जाहेरीमा कुशवाहा १ भदौदेखि प्रहरी हिरासतमा छन् ।

२०७९ सालमा माओवादी केन्द्रका तर्फबाट वडाअध्यक्ष निर्वाचित कुशवाहासहित आठ जनाले पर्सा बहुदरमाई घर भई प्रसौनी( ६ बेलहीया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेका थिए । उनीहरू सबै अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

कुशवाहाको पार्टी सदस्यता खारेज गर्न माओवादीको बारा जिल्ला समन्वय समितिले ७ भदौमा प्रदेश कार्यालयलाई पत्र लेखेको थियो । ९ भदौमा मधेश प्रदेश इञ्जार्ज मातृकाप्रसाद यादवले कुशवाहालाई निलम्बन गरेको पत्रमार्फत जानकारी गराएका छन् ।

पत्रमा भनिएको छ, ‘प्रसौनी गाउँपालिका वडा नम्बर– ६ को वडा अध्यक्ष क। बृजकिशोर कुशवाहालाई कार्यबाहीको लागि मिति २०८२र०५र०६ गते प्रसौनी गाउँपालिका समितिबाट आएको पत्र, मिति २०८२–०५–०७ गते जिल्ला इञ्चार्जको सिफारिसअनुसार र विगतमा विभिन्न आराजक गतिविधि गरेको तथा पार्टी अनुशासन उलंघन गर्दै आएको हुँदा क। बृजकिशोर कुशवाहालाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरी कार्यबाही गरिको व्यहोरा जानकारीसहित कार्यान्वयनको लागि निर्देशन गर्दछौँ ।’

जिल्ला समिति बाराका इञ्चार्ज श्रेष्ठले कुशवाहालाई निलम्बन गर्न माग गर्दै ७ भदौमा प्रदेश कार्यालयलाई पत्र लेखेका थिए । श्रेष्ठले पत्रसहित शिक्षक यादवलाई नाङ्गै पारेर कुटपिट गरेको भिडियोसमेत आफूलाई उपलब्ध भएको जानकारी गराएका थिए ।