Bagmati Samachar Logo

मस्कले हाले एप्पल र ओपनएआईविरुद्ध मुद्दा

काठमाडौं । टेस्ला प्रमुख एवं एक्सका मालिक इलोन मस्कले एप्पल र ओपनएआई विरुद्ध अदालतमा मुद्दा हालेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मस्कले सोमबार टेक्ससको अदालतमा एप्पल र ओपनएआई विरुद्ध ६१ पृष्ठको मुद्दा दायर गरेका हुन्।

जसमा उनले एप्पल र ओपनएआईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा आफ्नो प्रतिस्पर्धा अन्त्य गर्न खोजिरहेको आरोप लगाएका छन्।
मुद्दामा दुई ठूला खेलाडी एप्पल र ओपनएआईले आफ्नो पकड बलियो बनाउन एआई प्रविधि नियन्त्रण गर्ने षड्यन्त्र गरेको उल्लेख छ।

मस्कले एप्पलले एआईलाई आफ्नो सबैभन्दा ठूलो राजस्व कमाउने आईफोनका लागि खतरा मानेको र त्यसैले ओपनएआईसँग मिलेर च्याटजीपीटीलाई प्रवर्द्धन गरिरहेको आरोप पनि लगाएका छन्।

मुद्दामा यो पनि भनिएको छ, एप्पलले ओपनएआईको च्याटजीपीटीलाई आफ्नो आईफोनको एप स्टोरको शीर्षमा अनुचित रूपमा राखेको छ र आफ्नो प्रतिस्पर्धी एक्स एआईको ग्रोक च्याटबटलाई दबाउन षड्यन्त्र गरेको छ।

मुद्दा मस्कका कम्पनीहरू एक्सएआई र एक्सले यो अनुचित व्यवहारविरुद्ध आर्थिक क्षतिपूर्ति र अदालती कारबाहीको माग गरेका छन्।

मुद्दामा ओपनएआईले सार्वजनिक हितकारी संस्थाको भूमिका त्याग्दै नाफालाई प्राथमिकता दिएको आरोप पनि लगाइएको छ।

तर ओपनएआईले पनि मस्कविरुद्ध मुद्दा हालेको छ। उसले मस्कले उत्पीडन गरिरहेको आरोप लगाएको छ।

एप्पलले भने अहिलेसम्म यस विषयमा प्रतिक्रिया दिएको छैन।

मस्कको एआईको ग्रोक च्याटबट छ ।