Bagmati Samachar Logo

जिल्ला अदालत रुपन्देहीले बिगो रकम दाखिल गर्दा पनि रिहा नगरेपछि रवीले दिए उच्च अदालतमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्। आफ्नो भागको बिगो रक़म दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन्। उनी सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि काठमाडौं नख्खु कारागारमा थुनामा रहेका छन् ।

उनको निवेदनमा आगामी ११ भदौमा पेसी तोकिएको छ।

यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालत रुपन्दहीमा निवेदन दिएका थिए। जिल्ला अदालत रपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ। तर रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए। रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए।

जिल्ला अदालतले भने उनको भागमा कति बिगो कायम हुने भन्ने नै एकीन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो।

यस्तै यसअघि रुपन्देही अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गरे पनि उच्च र सर्वोच्च अदालतबाट थुनामै राख्ने आदेश भएकाले पुनः उनलाई थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा प्रवेश गर्न नमिल्ने भनेको थियो।