रास्वपा नेता कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा रूपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एकजना नेतालाई पक्राउ गरेको छ।
चितवनको कालिका नगरपालिका ५ पदमपुरका हरिप्रसाद कँडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन्।
रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई बिहीबार चितवनबाटै पक्राउ गरेर रूपन्देही ल्याइएको हो।
उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरू भएको एसपी क्षेत्रीले बताए।
रूपन्देही प्रहरीले गत साउन ३० गते रूपन्देहीको बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना भारतीयलाई पक्राउ गरेको थियो।
भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव नाम गरेका ती युवकको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरेको थियो।
बयानका क्रममा यादवले हरिप्रसाद कँडेलका लागि काम गर्दै आएको बताएपछि कँडेललाई बुधबार पक्राउ गरिएको एसपी क्षेत्रीले जानकारी दिए।
प्रहरीका अनुसार पूर्वशिक्षक समेत रहेका कंडेल चितवनमा शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका छन्। त्यसैको माध्यमबाट नक्कली शैक्षिक प्रमाणपत्रको बनाउने र कारोबार गर्ने गरेको खुलेको छ।
कँडेल यसअघि नक्कली सर्टिफिकेटकै विवाद सार्वजनिक भएपछि प्रधानाध्यापक हुन अयोग्य ठहर भएका थिए। पदमपुरको भिमोदय माविको प्रधानाध्यापक रहेको बेला अख्तियारमा उजुरी परेपछि उनी पदका लागि अयोग्य ठहर भएका थिए।
त्यसपछि उनले चितवनको लायन्स चोकमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए। उनी उक्त परामर्श केन्द्रका अध्यक्ष हुन्।
कंडेलले अहिले विद्यार्थीहरुलाई त्यसरी नै माल्टा पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ।
नेपाल र भारतका समेत विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाएर यसअघि अध्ययन तथा कामदारको रुपमा विभिन्न देशमा विद्यार्थी पठाउँदै आएको प्रारम्भिक अनुसन्धान क्रममा खुलेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: