भूकम्पले भत्काएको छाप्रो पुनर्निर्माणमा परेन, तीन ठाउँमा घर भएकाहरूले पाए : जनार्दन शर्मा
काठमाडौं । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले बझाङ र डोटीमा भूकम्पपछि टहराहरू पुनः निर्माण कार्यक्रममा नपरेको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सदरमुकाममा पनि घर भएकाहरूको घर पुनर्निर्माणमा समेटिएको तर गाउँमा मात्रै घर भएका र त्यो पनि भूकम्पले भत्काएका घरहरू पुनर्निर्माणमा नपरेको बताएका हुन्।
‘जसको घर एउटा गाउँमा पनि छ, सदरमुकाममा पनि छ र नेपालको कुनै ठूलो सहरमा पनि छ। त्यस्तो परिवारको घर पुनःनिर्माणमा पर्यो। जसको छाप्रो भूकम्पले भत्काएको थियो। त्यो भत्काएको छाप्रो पुनः निर्माणमा परेन। हामी छाप्रोहरूको नपर्ने हो कि के हो भनेर उहाँहरूले प्रश्न गर्नुभयो,’ शर्माले भने।
विज्ञ प्राविधिकहरू गएर मूल्यांकन हुन्छ भनिए पनि त्यसमा प्रश्न उठेको शर्माले बताए । तत्काल ती सबै कुराहरूलाई समेटेर पुनःनिर्माणका प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: