Bagmati Samachar Logo

सिस्नेरी सडकको पहिरो पन्छाउन ३ वटा मेसिन प्रयोग

हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने सडक, भीमफेदी–कुलेखानी–सिस्नेरी सडक २४ घण्टादेखि पहिरोका कारण अवरुद्ध छ । सडक अवरुद्ध हुँदा यातायात बन्द भएको छ । शनिबार बिहान ९ बजे खसेको सुक्खा पहिरोका कारण सिस्नेरी सडक अवरुद्ध भएको २४ घण्टासम्म पनि खुलेको छैन ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा शनिबार बिहान ९ः३० बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरो खसेर सडक अवरुद्ध भएको केही समयमै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसीबी र एस्काभेटर प्रयोग गरेर सडक खुलाउन प्रयास गरे पनि निरन्तर रूपमा पहिरो खसेकाले २४ घण्टासम्म पनि सडक खुलाउउन सकेको छैन ।

मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौंडा मार्फत् सडक खुलाउन मेसिनहरू प्रयोग गरिएको थियो । आयोजनाले आइतबार साँझसम्म सडक सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम गरिरहेको जनाइएको छ ।

शनिबार नै बाटो खुलाउने प्रयास गरिए पनि पहिरो खस्न नरोकिएपछि शनिबार काम रोकिएको थियो । आइतबार बिहानैबाट काम सुरु भएको र साँझसम्म सडक खुलाउने गरी काम भइरहेको जानकारी मन्त्रालयले दिएको छ ।

पहिरो पन्छाउने काममा एस्काभेटर, जेसीबी र लोडर एक÷एक वटा प्रयोग गरिएको छ ।

उक्त स्थानमा तत्कालका लागि खोलातर्फ डाइभर्सनबाट सवारी साधन आउजाउ गराइएको छ । यद्यपि, सडक पूर्णरुपमा सञ्चालन नआउन्जेलसम्म सवारी चाप नहोस् भनेर हेटौंडा–काठमाडौँ यात्राका लागि कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।