Bagmati Samachar Logo

मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलाइएको घटनाप्रति माओवादी निकट चार जनसंगठनको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले मनोहरास्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले चलाएको डोजर कार्यप्रति कडा आपत्ति जनाएको छ ।

माओवादी निकट चारवटै संगठनले संयुक्त वक्तव्य जारी गर्दै ‘जनताको संविधानप्रदत्त आवास र भूमिअधिकार हनन गर्दै साउनको मुसलधारे वर्षातमा गरिब किसान–मजदुर, दलित, जनजाति बसोबासीको झुप्रा–छाप्रा भत्काउने, सामान लुटपाट गर्ने र आक्रमण गर्ने जस्तो अमानवीय हर्कत गरिएको’ आरोप लगाएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘सुकुम्बासीले खाई–नखाई बनाएका घर–टहरामाथि बुलडोजर चलाउनु भूमिहीन र गरिबमाथि भएको आक्रमण हो । यस्तो कार्य रोक्नुपर्छ र पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ।’

चारै संगठनले भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने सरकारले गरेको अघिल्लो घोषणामा ओली नेतृत्वको गठबन्धन सरकार आएपछि प्रगति नभएको उल्लेख गर्दै भूमि समस्या समाधान आयोग र सम्बन्धित मन्त्रालयमाथि निष्क्रियता तथा भ्रष्टाचारको आरोप पनि लगाएका छन् ।

भूमिसम्बन्धी ऐन २०२१ संशोधन गरी जनविरोधी प्रावधान खारेज गर्न, वास्तविक भूमिहीन र सुकुम्बासीलाई तत्काल लालपुर्जा वितरण गर्न, भ्रष्ट मन्त्री, सचिव, कर्मचारी र आयोगका पदाधिकारीलाई बर्खास्त गरी कारबाही गर्न माग गर्दै उनीहरूले अन्यथा सडक संघर्षमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

वक्तव्यमा भूमिअधिकारलाई वर्गसंघर्षकै अभिन्न हिस्सा भन्दै भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठनबद्ध र एकजुट भई लालपुर्जाको अधिकारका लागि संघर्षमा सहभागी हुन आह्वान गरिएको छ ।

माओवादी निकट संगठनका नेताहरुमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाली र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियार रहेका छन् ।