Bagmati Samachar Logo

सीडीओले मिलाए ‘अब समस्या आउँदैन’ भनेकै मध्यराति कारागारमा हिंसात्मक झडप, एकको मृत्यु

काठमाडौं । शुक्रबार दिउँसो कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादु हमालले कैलालीको कारागारमा केहि समस्या आएको थियो तर मिलाएका बताएका थिए । कैलाली कारागारमा कैदीबन्दीलाई सरुवा गर्ने क्रममा केही प्रतिरोध हुँदा समस्या आएको थियो ।

शुक्रबार दिउँसो पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी मालले सम्झाइ बुझाइ गरे समस्या समाधान गरेको बताएका थिए । उनले भनेका थिए, ‘हामीले उनीहरूलाई सम्झाउने र बुझाउने काम गरिरहेका छौँ । अब समस्या आउँदैन ।’

प्रमुख जिल्ला अधिकारी हमालले १५ दिनसम्म कैलाली कारागारमा सुधारका कार्यक्रम सञ्चालन गर्ने पनि बताएका थिए । शुक्रबार नै कैलाली कारागारको सुरक्षा रणनीति पनि फेरिएको थियो । प्रमुख जिल्ला अधिकारीले भने, ‘पुराना सुरक्षाकर्मी सबैलाई हटाएर नयाँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

तर, प्रमुख जिल्ला अधिकारी हमालले ‘अब समस्या आउँदैन’ भनेकै राति कैलाली कारागारमा हिंसात्मक झडप मात्र भएन एक जनाको ज्यान गयो । ४० वर्षीय कैदीबन्दी भरत चौधरीको ज्यान नै गयो भने ४७ जना घाइते भए ।

अहिले कारागारको अवस्था तनावग्रस्त छ । उनीहरूले प्रमुख जिल्ला अधिकारी हमालसहित सुरक्षा अधिकारी र मानव अधिकारीको टोलीलाई पनि कारागार भित्र छिर्न दिएका छन् । जसका कारण शुक्रबार रातिको झडपमा कति क्षति भएको छ भन्ने बारेमा प्रहरी प्रशासन पनि जानकार छैन । कारागारभित्र रहेका कैदीबन्दीका आफन्तले भने अहिले भेट्न पाइरहेका छन् ।

कारागार प्रशासनले दिएको जानकारीअनुसार शुक्रबार बिहानैदेखि ब्लक ‘ए’ र ब्लक ‘बी’का कैदीबन्दीबीच ढुंगा हानाहान नै भइरहेको थियो । अवस्था असामान्य भएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी हमाल, कैलाली प्रहरी प्रमुख बालनरसिंह राणासहित सुरक्षा समितिको टोली कारागार पुगेको थियो ।

उनीहरूले दुवै ब्लकका कैदीबन्दीसँग छुट्टाछुट्टै छलफल गरेका थिए । छलफलका क्रममा ब्लक ‘बी’ का कैदीबन्दीहरूले आफूहरू ब्लक ‘ए’ का कैदीबन्दीबाट असुरक्षित भएको बताएका थिए । दुबै पक्षका कुरा सुनिसकेपछि प्रमुख जिल्ला अधिकारीले दुवै पक्षलाई सम्झाएका थिए ।

प्रमुख जिल्ला अधिकारीसँग छलफलका क्रममा केही कैदीबन्दीले आफूहरूको ज्यान जोखिममा रहेको पनि बताएका थिए ।

कैलाली कारागारका खरिदार रामप्रसाद चौधरीका अनुसार प्रमुख जिल्ला अधिकारीसँग छलफल भएपछि कारागारको अवस्था सामान्य भएको थियो । ‘कैदीबन्दीसँग समस्याबारे सोधेका थियौँ, कतिपय कैदीबन्दीले खानाको छुट्टै व्यवस्थाको माग गरेका थिए,’ खरिदार चौधरीले भने, ‘हामीले त्यसको पनि व्यवस्था गरिसकेका थियौँ । दुवै पक्ष ताली बजाएर भित्र गएका हुन् । अब त समस्या नपर्ला भनेर बेलुका ६ बजे घर गएका थियौँ । राति ढुंगामुढा हुन थाल्यो भनेर कार्यालय सहयोगीले फोन गरेपछि मैले सीडीओ सरसँग कुरा गरेको थिएँ ।’

कारागार प्रशासनका अनुसार ब्लक ‘ए’ मा रहेका कैदीबन्दीले ब्लक ‘बी’मा रहेका कैदीबन्दीमाथि राति आक्रमण गरेका थिए । उनीहरू वेल्डिङ गरेर बनाइएको ढोका फोडेर ब्लक ‘बी’ मा प्रवेश गरेका थिए । जिमखानामा रहेका सामग्री प्रयोग गर्दै कुटपिट भएको खरिदार चौधरीले बताए । कैलालीमा विगतदेखि नै विभिन्न समूह आपराधिक गतिविधिमा संलग्न थियो । उक्त समूहका केही व्यक्ति कारागार चलान भएपछि कारागारमा पनि झडपको अवस्था आइरहेको सुरक्षा अधिकारी बताउँछन् ।

पछिल्लो डेढ महिनामा दुईपटक गरी भूपेन्द्र बडुवाल हत्या प्रकरणका १७ जनालाई पूर्वी नेपालका विभिन्न कारागारमा सरुवा गरिएको छ । कारागार प्रशासन स्रोतले भन्यो, ‘ती १७ जनाको सरुवाअघि कारागारभित्र उनीहरूकै चल्ने गरेको थियो । उनीहरूको सरुवा भएपछि नयाँ समूह बनाएर कारागारभित्र दबदबा चलाउन प्रतिस्पर्धा नै चलेको छ । सोही क्रममा झडप पनि भइरहेको हो ।’

प्रमुख जिल्ला अधिकारी हमालका अनुसार कैलाली कारागारभित्र ग्रुपिजमको अवस्था पनि देखिएको छ । कैलाली जिल्लामा भएका पछिल्ला आपराधिक गतिविधिमा पनि कारागारभित्रैबाट परिचालित भएको आशंका प्रशासनले गरेको छ ।