Bagmati Samachar Logo

भोटेकोसी बाढी : ७ जनाको शव भेटियो

काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । २० जना अझै सम्पर्कविहीन रहेको पनि प्रहरीले जनाएको छ।

हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्। उद्धार कार्य जारी रहेको र अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका १, २ र ३, आमाछोदिङ्मो गाउँपालिका १, २, ४ र ५, उत्तरगया गाउँपालिका २, ४ र ५ र कालिका गाउँपालिका १ रहेका छन्।

बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ। त्यस्तै ईभी चार्जिङ स्टेशन पूर्ण रुपमा ध्वस्त भएको छ। भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ। रसुवागढी हाइड्रोपावरको ड्याम क्षतिग्रस्त छ।

त्यस्तै गोसाइँकुण्ड–पासाङल्हामु सडकखण्ड चर्किएको र धुन्चेदेखि टिमुरेसम्म सवारी आवागामन ठप्प भएको छ ।