Bagmati Samachar Logo

कांग्रेसको समर्थनमा ओलीको आशंका

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको विश्वासको मत कुनै जालका लागि भए माछा नभएको खोलामा फ्याँकेजस्तो हुने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सरकारमा नजाने तर सरकारलाई अहिलेका लागि विश्वासको मत दिने बताएलगत्तै बोलेका ओलीले कांग्रेसको समर्थन जाल वा ढोक्सा नहोस् भनेका छन् ।

‘कांग्रेसले समर्थन गरेको छ, म धन्यवाद भन्न चाहन्छु’ उनले भने, ‘यदि यो समर्थनभित्र सदासयताबाहेक अरु कुरा छैन भने कुनै जाल होइन भने ढोक्सा होइन् भने स्वागतयोग्य छ । ढोक्सा हो भने म भन्न चाहन्छु, माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल ।’

एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको भए त्यो ढोक्सा रित्तै हुने बताए । ‘सदासयताबाहेक अरु केही भोलिका निम्ति सोचिएको छ भने त्यो ढोक्सा रित्तै हुनेछ । किनभने त्यस खोल्सीतिर कुनै माछा बग्ने छैन,’ उनले भने ।