Bagmati Samachar Logo

आजै वामपन्थी गठबन्धन बनेर सरकारको दाबी गर्लान ?

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन टुटेपछि आजै वामपन्थी सहितको सरकार नेतृत्वको दाबी गर्ने तयारी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निस्केर बालकोट पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछोडेपछि गठबन्धन टुटेको भन्दै प्रचण्ड बाहिरिएका थिए ।

एमाले माओवादीले आज बिहानबाट नै सत्ता समीकरणको लागि भन्दै माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आन्तरिक तयारी गरेको थियो ।

पेरिसडाँडामा माओवादी नेताहरू वर्षमान पुन, देवेन्द्र पौडेललगायतका नेताहरू र एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू आन्तरिक तयारीमा जुटेका बताइएको छ ।

नेताहरूले आजै राष्ट्रपति कार्यलयमा सरकारको नेतृत्व गर्ने गरी तयारी गरेको स्रोतले बताए ।

स्रोतका अनुसार आज ५ बजेभित्र एमाले, माओवादी र केही अन्य साना दलसहितको सरकारको नेतृत्वको लागि दाबी गर्ने तयारी गरेको छ । जसमा एमाले ७८, माओवादी केन्द्र ३२, रास्वपा २०, जसपा १२ र स्वतन्त्र २ सहितको १४४ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा दाबी गर्ने बताइएको छ ।

अहिले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बालकोटमा भेटवार्ता जारी रहेको छ । सायद भेटवार्ता सकिए लगतै प्रचण्ड एमाले माओवादी , जसपाको समर्थन सहित सरकारको नेतृत्वको दाबी गर्ने छन् ।