Bagmati Samachar Logo

माओवादीले दियो आफ्ना बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आज साँझसम्मको समय, नलिए स्वत निष्कासित

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागी उठेका उम्मेदवारले आज साँझसम्म आफ्नो उम्मेदवारी निष्कृय नगराए कारबाही गर्ने भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, प्रस्ताव र समर्थकलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने भएको हो ।

सोमबार कार्यलय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गरी आज साँझसम्म बागी उम्मेदवारले आफ्नो उम्मेदवारी निष्कृय नपारे कारबाही हुने जानकारी दिएका छन् ।

‘गठबन्धन दलहरूबीच सहमति भई बनेका नेकपा माओवादीका आधिकारिक उम्मेदवारविरुद्ध एवं गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासनको कारबाही गरिएको कुरा अवगत गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टी र गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धतासहित आज साँझसम्म सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निष्कृय गराए कारबाही फिर्ता हुने पनि माओवादीले जनाएको छ ।