Bagmati Samachar Logo

कांग्रेस विवाद : कोइराला समूह समानुपातिकमा खुशि , प्रत्यक्षमा सिट संख्या बढाउने

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको आन्तरिक सर्घषले गर्दा सिट बाँडफाँडमा पनि असर परेको छ । काँग्रेस पार्टीमा कसले धेरै सिट लिने भन्नेमा सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहबीच संघर्ष चलिरहेको छ ।

३ असोजमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा देउवाले एकलौटी गरेको भन्दै आन्दोलित बनेको कोइराला समूहले १६ असोजमा बन्दसूची संशोधनपछि पूरै सन्तुष्ट नभए पनि केहि खुशि भएको छ । कोइराला निकट एक नेताले भने ‘समानुपातिक बन्दसूची बुझाएपछि हामीले न्याय र अवसरका लागि भन्दै खबदारी चलाएयौँ । त्यसले केही सफलता पाएको छ । अब प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पनि हाम्रो खबदारी रहन्छ ।’

कोइराला समूहका दोस्रो तहका नेताले बिहीबार भेला गरेर डा. कोइराला र महामन्त्री गगन थापालाई भेटेर न्याय तथा समान अवसरका लागि खुट्टा नकमाउन सुझाव दिने निर्णय गरेका छन् । नेता आचार्य भन्छन्, ‘भोलिसम्म कोइराला र गगन थापालाई भेटेर समान अवसर र न्यायका लागि खुट्टा नकमाउन सचेत गारउँछौँ ।’

कांग्रेसले बुझाएको समानुपातिक बन्दसूचीमा कोइराला समूहबाट कम्तीमा एक तिहाइ निर्वाचित हुनेगरी नामहरू समावेश गरिएको कोइराला समूहका नेताहरू बताउँछन् । त्यसरी नामहरू समावेश गराउन खबदारीले काम गरेको बुझाइ उनीहरूको छ । तर, केही निर्वाचन क्षेत्र र जिल्ला भने कांग्रेसबाट उम्मेदवारै नहुने स्थिति देखिएको नेता आचार्यले बताए । उनले भने, ‘केही निर्वाचन क्षेत्र र जिल्लामा न समानुपातिक न प्रत्यक्ष उम्मेदवार हुने देखियो । समानुपातिक त नेता प्रधान भयो । बलियो नेता भएको जिल्लामा हुने अन्य जिल्ला खाली हुने । यो विषयमा पनि हामी कोइराला र थापाको ध्यानाकर्षण गराउँछौँ ।’

पाँचदलीय गठबन्धनको बैठक जारी छ । बिहीबार गठबन्धनमा सहमति जुटे शुक्रबारसम्म कांग्रेसले प्रत्यक्षतर्फका उम्मेदवार पनि टुंग्याउने छ । निर्वाचन क्षेत्रबाट सिफारिस भएका नामहरूमाथि पार्टीमा एकसरो छलफल भइसकेको छ । टिकट कसले पाउने भन्ने मोटामोटी हिसाब पनि भइसकेको छ। तर, गठबन्धनमा टुंगो नलाग्दा कांग्रेसले उम्मेदवार पनि तय गर्न सकेको छैन । आगामी सोमबार प्रत्यक्ष उम्मेदवारको मनोनयन गर्ने चुनावी कार्यतालिका छ ।