Bagmati Samachar Logo

बालुवाटारमा प्रधानमन्त्री देउवा र उपसभापति गुरुङबीच भेटवार्ता , कोइराला पक्षको असन्तुष्टि सम्बोधन गर्नेबारे के के भयो छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइराला पक्षको असन्तुष्टि सम्बोधन गर्ने बताएका छन्। शनिबार उपसभापति धनराज गुरुङले बालुवाटार गएर पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन सभापति देउवाको ध्यानाकषर्ण गराएका थिए ।

पार्टीभित्र देखिएको असन्तुष्टिबारे सभापतिसँग शनिबार साँझ आफूले कुराकानी गरेको गुरुङले बताए । उनले भने, ‘सभापतिज्यूले असोज १२ गतेसम्म फेरि बसेर कहाँ के गर्न सकिन्छ ? त्यो कुरा गरौंला भन्नुभएको छ । हामीले समस्याको समाधान खोज्ने हो । समस्या देखाएर समस्याबाट भाग्ने होइन ।’

कोइराला समूहले समानुपातिक उम्मेदवारको बन्द सूचीमा एकलौटी गरिएको भन्दै सच्याउन माग गरिरहेको छ । कोइराला पक्षका केही केन्द्रीय सदस्य, वर्तमान र पूर्व जिल्ला सभापति, भ्रातृ संस्थाका पूर्व पदाधिकारी लगायतले पार्टीभित्र न्यायोचित व्यवहार नभएको भन्दै विद्रोहको चेतावनी दिएका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र कांग्रेसले पाउने सिटमा आफूहरुले ४० प्रतिशत हिस्सा पाउनुपर्ने कोइराला पक्षको अडान छ ।

सभापति देउवाले समानुपातिक बन्द सूची नसच्याए र प्रत्यक्षमा न्यायोचित ढंगले टिकट वितरण नगरेर चुनाव बहिस्कार गर्ने कोइराला पक्षका नेताहरुको भनाइ छ । शनिबार मात्र उनीहरुले काठमाडौंमा खबरदारी भेला समेत गरेका थिए । तर देउवा पक्षको व्यवहार विरुद्ध कोइराला पक्षका शीर्ष नेताहरु मौन थिए ।

समानुपातिक बन्द सूची लगायतका विषयमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार लगायतका नेताहरुले मुख नखोलेको अवस्था छ । तर उपसभापति गुरुङले भने इतर पक्षको नेतृत्वकै समन्वयमा खबरदारी भेला भएको रातोपाटीलाई बताए । उनले भने, ‘निर्णय गर्ने ठाउँमा भएका नेताहरु सडकमा आएर बोल्नु हुन्छ त ? हामीले निर्णय गर्ने ठाउँमा समस्याको समाधान खोज्ने हो । तर सडकमा नेताहरुले गरेको खबरदारीलाई अन्यथा लिनुहुँदैन ।’

समानुपातिक बन्द सूचीमा पार्टीभित्र उठेको विरोधको स्वरबारे सभापति देउवा गम्भीर देखिएको गुरुङको भनाइ छ । ‘पार्टीभित्र न्यायोचित व्यवहारका लागि हामी जिम्मेवार हुनुपर्छ । त्यो जिम्मेवारी बोध गरेर मैले पार्टीभित्र प्रकट भएको विरोधको स्वरलाई बालुवाटारमा पुर्याएको छु,’ उनले भने ।

यता सभापति देउवाले चुनावको मुखमा पार्टीभित्र विवाद सिर्जना गर्न नहुनेमा जोड दिएका थिए । ‘पार्टीका सबै साथीहरुको उचित ढंगले मूल्यांकन हुन्छ । गठबन्धनको बाध्यता तपाईहरुले बुझ्नु नै भएको छ । कही साथीहरुले त्याग पनि गर्नुपर्ने अवस्था छ ।’ देउवाले गठबन्धनभित्र कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बहुमत सिट दिने गरी सिट बाँडफाँट टुंगिएको पनि बताएका थिए ।