Bagmati Samachar Logo

धनकुटामा माओवादीमा चुनावको मुखैमा विद्रोह

काठमाडौं । नेकपा माओवादी केन्द्रका १ नं. प्रदेशमा पोलिट्व्यूरो, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरुले सामुहिक राजीनामा दिएका छन् ।
धनकुटा जिल्लाबाट पोलिटव्यूरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषीराम ढुंगानासहित १५० जनाले आइतवार पार्टीबाट सामूहिक राजिनामा दिएका छन् ।

पोलिटव्युरो सदस्य भण्डारीले १५ दिन पहिला नै काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिएको बताए) । उनले भने, ‘मैले १५ दिन पहिला नै काठमाडौंमा अध्यक्ष प्रचण्डलाई भेटेर जिल्लाको अवस्थाबारे जानकारी गराएको थिए । तपाई गठबन्धन गर्ने भए हामीहरुलाई चुनाव चिन्ह दिनुहोस ,हामी चुनाव लड्छु भन्दा गठबन्धनका कारण चुनाव चिन्ह दिन सकिदैन भन्नु भयो । मैले पनि त्यहि दिन उनलाई राजीनामा बुझाएर आए ।’
धनकुटामा आइतवारको बैठकपछि एक जना पोलिटव्युरो, एक जना केन्द्रीय सदस्य, १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सबै पदाधिकारी , सदस्यहरु र पालिकाका साथिहरुले सामुहिक राजीनामा दिएको भण्डारीले बताए ।

आसन्न मंसिर ४ गतेको संघ र प्रदेश सभाको आम निर्वाचनको सन्दर्भमा भण्डारीले प्रचण्डलाई भेटेर गठबन्धनका चुनावी एजेण्डाका के हुन , कसरी चुनावमा जाने , अहिलेको गठबन्धन चुनावी एजेण्डाबीनाको भएकाले यसरी चुनाव जित्न नसकिने निस्कर्ष प्रचण्डलाई सुनाएको भण्डारीले बताए ।

प्रचण्डले चुनाव चिन्ह पनि नदिने , गठबन्धनको नाममा अघिल्लो चुनावमा एमालेलाई छोडेको यो चुनावमा कांग्रेसलाई छोड्ने भएपछि हामीहरुले फरक तरिकाले अभियान चालाउने जानकारी प्रचण्डलाई दिएर जिल्ला फर्केको भण्डारीले भने, ‘अघिल्लो चुनावमा गठबन्धनको नाममा एमालेलाई छोड्ने प¥यो । यो पटक कांग्रेसलाई छोड्नु पर्ने भयो । हामीलाई चुनाव चिन्ह पनि नदिएपछि विद्रोह गरेका हौ । हामी हाम्रो तरिकाले चुनावमा जान्छौ ।’

प्रतिनिधिसभाको निर्वाचनको लागि धनकुटाबाट भण्डारी सिफारिस भएका थिए । उक्त जिल्ला गठबन्धनमा कांग्रेसलाई दिने भएपछि भण्डारीले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने बताए ।

माओवादी केन्द्र छोडेको सामुहिक विज्ञप्ती निकालेको छ । उक्त विज्ञप्तीमा भनिएको छ , ‘जिल्ला समन्वय समितिको बैठक बसी जिल्लास्थित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजक सहित समन्वय समतिमा रहेका सबैले पदिय जिम्मोवारीबाट सामुहिक राजिनामा दिएका छौ ।’

आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधारसहित प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारका रुपमा धनकुटेली जनतामा जाने, हेमराज भण्डारी को प्रस्तावलाई पूर्ण समर्थन रहेको पनि विज्ञप्तिमा भनिएको छ ।

धनकुटामा गठबन्धनका कारण माओवादीका नेताहरुले सामुहिक राजिनामा दिएको भण्डारीले बताए ।
धनकुटाबाट माओवादीबाट हेमराज भण्डारी चुनावको लागि सिफारिस भएका थिए । धनकुटा कांग्रेसको भागमा पर्ने भएपछि सामूहिक राजीनामा दिनुपरेको भण्डारीले बताए ।

धनकुटामा नेपाली कांग्रेस र जनता समाजवादीले समेत दाबी गरेका छन् ।

धनकुटा एउटा निर्वाचन क्षेत्र रहेको छ । तर उक्त क्षेत्र कांग्रेसलाई छोड्नु परेपछि विद्रो भएको हो । कांग्रेसबाट सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङ्गले उम्मेदवारीको दाबी गदै आएका छन् । शुनिला थापालाई भोट नहाल्ने भन्दै जिल्ला भरी विद्रोह भएको बताइएको छ । जिल्लाबाट स्थानीय तहका नेतादेखि केन्द्रसम्मकाले विद्रोह गरेका छन् ।