प्रचण्ड–ऋषि कट्टेलबीच सवाल जवाफ : प्रचण्डले गरे प्रश्नैप्रश्न
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका अध्यक्ष ऋषि कट्टेलबीच सवाल जवाफ भएको छ । सवाल जवाफका क्रममा प्रचण्ड तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर कट्टेलले पार्टी फुटाइदिएको भन्दै आक्रोश समेत पोखे ।
बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कट्टेललाई कम्युनिष्ट पार्टी फुटाउन अदालत गएको आरोप लगाए । अध्यक्ष प्रचण्डभन्दा अगाडि मन्तव्य राखेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले भने नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरेका थिए
।
सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति आक्रोश पोखेका हुन् । उनले तत्कालिन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्नु नहुने बताए ।
उनले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन भन्ने प्रश्न समेत गरे । ‘ऋषिजीले जो आदर्शको कुरा गर्नुभयो, म यतिमात्रै भन्न चाहन्छु, ऋषिजी तपाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? तपाई त्यो आदर्शमा किन लाग्नुभएन रु नेपालको कम्युनिष्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालतमा जाने तपाई नै होइन र ? अनि अहिले काँग्रेससँग मिल्यो भनेर तपाईले भन्न मिल्छ ? संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई । मेरो विचारमा मिल्दैन ।’
अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भएपनि हालसम्म कार्यान्वयन नभएको बताए । कट्टेलले नेकपा (माओवादी केन्द्र) सर्वहारा वर्गको मुक्ति र राष्ट्रिय स्वाधिनताको सम्बन्धमा गलत बाटोतिर गइरहेको टिप्पणी पनि गरे । उनले उत्पीडित वर्ग, समुदायको मुक्ति र राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो स्पष्ट नभएसम्म शहीदप्रति सम्मान नहुने बताए । नेपाली काँग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने उनको भनाई थियो ।
उनले भने, ‘आज तपाईको पार्टी, सुरेशको पार्टी, नेपाली जनक्रान्तिको दिशामा, नेपालको उत्पीडित वर्ग, समुदायको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाको दिशामा कुन ठाउँमा छ ? तपाईहरुले मूल्यांकन गर्नुस् । आफ्ना पाटोहरुलाई ठिक ढंगले मूल्यांकन गरिएन भने शहीद प्रतिको श्रद्धा, श्रद्धा हुँदैन । त्यसकारण म अनुरोध गर्छु, तपाईंहरुको पार्टी तपाई जतिसुकै फुँदा गास्नुस् ।
उनले माओवादी केन्द्र गलत बाटोमा गइरहेको भन्दै सच्चिन आग्रह समेत गरे ।
प्रतिक्रिया दिनुहोस्: