बेलायतको नयाँ प्रधानमन्त्रीमा ४७ वर्षीया लिज ट्रस
काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्री लिज ट्रस भएकी छन् । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो ।
४७ वर्षीया ट्रसलाई बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् । सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा दुई जनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो ।
पार्टीको संसदीय दलको नेताका लागि पार्टी सदस्यहरूले गत शुक्रबार मतदान गरेका थिए । सोमबार प्राप्त अन्तिम नजितामा सुनाकाले ६० हजार ३९९ र ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरिन् । खसेको कुल मत मध्ये ट्रसले ५७.४ प्रतिशत र सुनाकले ४२.६ प्रतिशत मत रहेको छ ।
सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद्का पाँच दर्जन सदस्यले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । बेलायतमा बढ्दो मुद्रास्फीति तथा बैंक ब्याजदर, आर्थिक मन्दी, खाद्यान्न तथा ऊर्जामा उच्च मूल्यवृद्धि, युक्रेन–रुस युद्धलगायतका मुख्य चुनौती नयाँ प्रधानमन्त्री ट्रसले सामना गर्नु पर्ने छ । यसअघि उनले आफू प्रधानमन्त्री बनेमा एक साताभित्र ऊर्जामा बढ्दो उच्च मूल्यवृद्धि घटाउने, राहताका प्याकेज घोषणा गर्ने बताएकी थिइन् ।
सानो छँदा मार्गरेट थ्याचरको खुबै विरोध गर्थिन् लिज ट्रुस । उनीविरुद्धका प्रदर्शनमा नारा लगाउन दौडन्थिन् । वामपन्थ नै त नभनौं तर उदारवादी विचारहरुप्रति रुझान् थियो उनमा । उमेर पाक्दै जाँदा उनी थ्याचरकी पक्का समर्थक भएर निक्लिन् ।
कालान्तरमा थ्याचर बसेकै कुर्सीमा उनी बस्न जाँदैछिन् । तेस्रो बेलायती महिला प्रधानमन्त्री भएर उनी थ्याचरकै पथमा अग्रसर छिन् । कुर्सीले मात्रै त्यो पथमा होइन, बरु दक्षिणपन्थी नीतिहरुले समेत ।
मार्गरेट थ्याचर पहिलो महिला प्रधानमन्त्री बनेको तीन दशकपछि सन् २०१६ मा थेरेसा मे दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
पार्टीका नेताहरुमात्रै होइन, कतिपय सदस्यहरु उनमा थ्याचरजस्तै ‘आइरन लेडी’ हुन सक्ने गुण देख्छन् । रुसले युक्रेनविरुद्ध युद्ध छेड्दा उनी यसअघि नै युक्रेनमाथि सहायताको पक्षमा उभिइसकेकी छन् । उनले नागरिकहरुमाथि लगाइएको करमाथि ठुलो कटौती हुने आश्वासनको भरमा लोकप्रियता पाएकी थिइन् ।
उनले तीन वर्षअघि एक भाषण क्रममा आफ्ना समाजवादी मातापितासँग बहस झगडा गर्दै आफु हुर्केको सुनाएकी थिइन् । ‘घरभरि वामपन्थीहरु थिए,’ स्कटल्यान्डबाट उत्तरी बेलायतमा सरेको परिवारबारे उनले भनेकी थिइन्, ‘बाबुआमा र उनीहरुसँग वैचारिक विवाद गर्दै म हुर्केकी ।’
लिजले अक्सफोर्डबाट अर्थशास्त्र दर्शनजस्ता विषयमा अध्ययन गरेकी थिइन् । विश्वविद्यालय पढ्दा बेला उनी लिबरल डेमोक्रयाटिक पार्टीको विद्यार्थी संगठनकी अध्यक्ष बनेकी थिइन् । उनी गाँजा फुकुवा गरिनुपर्ने अभियानमा समेत जोडिएकी थिइन् । त्यसबेला उनी राजतन्त्र बेलायतबाट उखेलिनुपर्ने जस्ता कडा मतहरु पनि पेश गर्थिन् ।
सुरुमा जति कट्टरपन्थी सोच राखे पनि अक्सफोर्ड छाडेसँगै उनले पार्टी पनि छाडिन् । उनी कन्जर्भेटिभ पार्टीतिर लागिन्, जसले उनलाई कालान्तरमा प्रधानमन्त्री बन्ने बाटो खुलायो ।
प्रतिक्रिया दिनुहोस्: