प्रदेशमा १२० र प्रतिनिधिसभामा ६० सिटभन्दा तल झर्ने कुरा हुन्न : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६० र प्रदेशसभा सदस्यमा १२० सिट दाबी गर्ने बताए । सोमबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
प्रचण्ड स्थानीय निर्वाचनमा जस्तो टिकट वितरणमा अनौठा घटना नहुने दाबी गरे । ‘सिट बाँडफाँटको विषय पर्सिसम्म टुंग्याउँछौँ । प्रत्यक्षमा प्रतिनिधिसभामा ६० सिटभन्दा घट्न सकिँदैन र प्रदेशसभामा १२० सिटमा हाम्रो दाबी रहन्छ,’ उनले भने ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउने बताएका छन् ।
उनले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गरे । उनले १५ भदौसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निष्कर्ष निकाल्ने तथा २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने बताए ।
प्रचण्डले गठबन्धन अब पनि रहने कि नरहने भन्नेबारेमा अहिले बहस चलिरहेको भन्दै यही गठबन्धनबाट चुनावमा जाने बताए । एमालेप्रति लक्षित गर्दै उनले प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म यहीँ गठबन्धन रहिरहने बताए ।
प्रतिक्रिया दिनुहोस्: