एमालेको उम्मेदवार बन्ने मापदण्ड : समानुपातिकमा अवसर पाइसकेकालाई फेरि नदोहोर्याइने
काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । शुक्रबार र शनिबार बसेको बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन ९ समूहमा छलफल भएको थियो ।
पार्टीलाई संगठनात्मक र वैचारिक रुपले एकतावद्ध तथा कार्यशैलीमा एकरुपता ल्याउन अध्यक्ष आलीको प्रतिवेदन एकताको सन्देश दिएको बैठकपछि आयोजित पत्रकार ब्रिफिङ्गमा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
बैठकले केन्द्रीय सल्लाहकार परिषद, लेखा आयोग, निर्वाचन आयोगका अध्यक्षले आयोगका कामबारे दिएको जानकारी ग्रहण गरेको छ । त्यस्तै भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
बैठकपछि प्रेस ब्रिफिङमा प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समानुपातिकको नाम सिफारिस गर्दा अवसरको न्यायोचित वितरण, सन्तुलन र समावेशी ढंगले पठाउनुपर्ने भन्दै जिल्लाले पठाउने निर्णय अन्तिम नभएकाले केन्द्रबाट हेरफेर हुने बताए ।
त्यस्तै प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ ।
उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गर्नुपर्ने गुरुङले बताए । उनले सिफारिसमा परेका व्यक्तिले उम्मेदवार बनेको जसरी प्रस्तुत हुन नपाइने भन्दै तलबाट सिफारिस भएका नाम केन्द्रबाट हेरफेर पनि हुन सक्ने बताए ।
गुरुङले समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई आमरुपमा फेरि नदोहोर्याइने पनि एमालेले जनाएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई पनि राजीनामा गराएर प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्यमा उम्मेदवार नबनाइने नेता गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: