Swornakshar Logo

पूर्वरथी कुलबहादुर खड्काको निधन

काठमाडौं । १३ साउन । नेपाली सेनाका अवकाश प्राप्त रथी कुलबहादुर खड्काको मृत्यु भएको छ । खड्काको मंगलबार राजधानीको नर्भिक अस्पतालमा मृत्यु भएको हो । उनी केही वर्षदेखि प्याङ्क्रियाज क्यान्सरसँग जुधिरहेका थिए ।
खड्का २०६६ सालमा भएको कट्ववाल प्रकरणमा जोडिएका चर्चित पात्र समेत हुन् ।

उनलाई तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रधानसेनापतिमा नियुक्त गरेपनि राष्ट्रपति रामवरण यादवको हस्तक्षेपपछि कार्यभार सम्हाल्न पाएका थिएनन् । सो प्रकरणका कारण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत राजीनामा दिनुपरेको थियो ।

पुख्र्यौली घर लम्जुङ भई सेनाका विभिन्न पदमा रही ३८ वर्ष सेवा पुर्याएका ६९ वर्षीय खड्काका श्रीमती, एक छोरा र एक छोरी छन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङगत कटुवाललाई बर्खास्त गरी खड्कालाई प्रधानसेनापति नियुक्त गरेको थियो। यद्यपी, उक्त निर्णय कार्यान्वयन भएन।

बलाध्यक्ष खड्कालाई प्रधानसेनापति बनाउने निर्णयलाई तत्कालीन १८ राजनीतिक दलको आग्रहमा तत्कालीन राष्ट्रपति रामबरण यादवले उल्टाएर प्रधानसेनापति कटुवाललाई पुर्नबहाली गरेका थिए। उक्त घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाटै राजिनामा दिएका थिए। कटुवालको बर्खास्ती र खड्कालाई प्रधानसेनापति बनाउने निर्णयसगै तत्कालील राजनीतिक घटनाले अर्कै बाटो लियो।