Bagmati Samachar Logo

स्वीट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौं । स्वीट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान अमेरिकाको कन्सास सिटी स्टेडियममा भएको खेलमा स्वीट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले समान एक–एक गोल गरे । स्वीट्जरल्यान्डका लागि डान एनडोएले एक गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलमा सुरुवाती अग्रता अर्जेन्टिनाले नै लिएको थियो ।

खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा भने गोल खान पुगेको थियो ।

खेलको ६७औँ मिनेटमा स्वीट्जरल्यान्डका लागि डान एनडोएले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ७२औँ मिनेटमा फरवार्ड ब्रिल एम्बोलो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्वीट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

त्यसपछि खेलको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

त्यसपछि अतिरिक्त समयको इन्जुरी समयको पहिलो मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिना स्वीट्जरल्यान्डमाथि ३–१ गोलअन्तरको जित निकाल्न सफल भएको हो ।

अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।